बिदुरः अकल्पनिय बाढीले नुवाकोटको त्रिशूली नदीमाथि रहेका पक्कि तथा झोलुङ्गे पुल ध्वस्त वनाएपछि केहि पुल भने मर्मत गरिएको छ । बाढीले वगाएर मर्मत गर्न सकिने रहेका झोलुङ्गे पुल मर्मत गरि सञ्चालनमा ल्याइएको हो । नुवाकोटको तारकेश्वर गाउँपालिका–२ पिमलटार र बेलकोटगढी नगरपालिका–७ कल्चेडी जोड्ने झोलुङ्गे पुल मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ ।

तीन सातापछि पुल सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आवतजावतमा सहज भएको स्थानीयवासी तथा पुर्व जनप्रतिनिधि नारायणप्रसाद खतिवडाले जानकारी दिए ।उनका अनुसार बिदुर नगरपालिका ३ र वेलकोटगढी नपा ८ स्थित झोलुंगेपुल पनि मर्मत भइरहेको छ । मर्मत गर्न सकिने झोलुङ्गे पुल मर्मत गरेर सन्चालन गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

भीषण बाढीपछि त्रिदेशिय सडकमार्गको गल्छी–कोल्पुखोला सडकखण्डमा विभिन्न क्षति पु¥याएको थियो । रातमाटेको छविसेमा सडकका नयां ट्रयाक खोलेर आवागमन सुचारु गरिएको छ । अन्य कतिपय स्थानमा सडक भासिनुका साथै चिरा परेपछि यस सडकखण्डमा आवागमन जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाई छ । यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।





