बिदुरः लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा ठुलो मात्रामा धनजनको क्षति गरेको छ । वाढी पीडितहरुले अस्थायी पुल तथा अस्थायी वासस्थानको माग गरेका छन् । तीन साता वित्दासमेत विकल्प हुन नसकेको जनाउंदै साविकको ढुङ्गे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिको दुई वटा पक्कि पुल बाढीले ध्वस्त पारेपछि पीडितहरुले उक्त स्थानमा अस्थायी पुल अर्थात् बेलिव्रिज निर्माण र अस्थायी आवासको माग गर्दै शनिवार नुवाकोटमा प्रदर्शन गरेका छन् ।


बाढीबाट प्रभावित विदुर नगरपालिका–१ ढुङ्गे, त्रिशूली तथा नदीपारि पश्चिमी क्षेत्रका बस्तीका समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयवासीले प्लेकार्ड र व्यानरसहित विरोध प्रदर्शन गरेको सहभागी रविन श्रेष्ठले वताए । उनले सहभागीहरुले बाढीबाट क्षति पुगेका तथा पुरिएका घरको तत्काल उत्खनन गर्नुपर्ने, विदुर–१ ढुङ्गे र त्रिशूली जोड्ने गरी तत्काल अस्थायी पुल निर्माण गर्नुपर्ने तथा त्रिशूली नदीपारिका बस्तीको आवतजावत सहज बनाउनुपर्ने माग प्रदर्शनकारीले गरेको जानकारी दिए । यसका साथै, बाढी प्रभावित परिवारलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने, राहत तथा पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने र जनताका समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार तथा जवाफदेही हुनुपर्ने माग उनीहरूले राखेका छन् ।

प्रदर्शनमा सहभागि बाढी पीडित तथा सरोकारवालाहरुले विदुर नगरपालिका–१ त्रिशूली र गुम्बाडाँडा क्षेत्रमा ब्यानर तथा प्लेकार्ड बोकेर बाढी प्रभावितका समस्या तत्काल सम्बोधन गर्न माग गरेका थिए । बाढीपछि ढुङ्गे, त्रिशूलीलगायत नदीपारिका बस्तीका नागरिकले भोगिरहेको आवतजावत, आवास तथा दैनिक जीवनयापनको समस्या लामो समयसम्म रहन नदिन सम्बन्धित निकायले तत्काल काम अघि बढाउनुपर्ने प्रदर्शनमा सहभागी अर्का युवा राजकुमार तामाङले वताएका छन् । बाढीले क्षति पु¥याएका तथा पुरिएका घरको तत्काल उत्खनन गरिनुपर्ने, ढुङ्गे र त्रिशूली जोड्ने गरी तत्काल पुल निर्माण गरिनुुपर्ने, नदीपारिका बस्तीका नागरिकको समस्या समाधान गरिनुपर्ने सरोज श्रेष्ठको भनाई छ ।

उनीहरुले अस्पताल जाने वाटोमा अस्थायी पुल राखिनुपर्ने, त्रिशूलीलाई दोश्रो कणाृली वनाउन नहुनेलगायतका विभिन्न माग लेखिएको प्लेकार्ड वोकेर बाढी प्रभावितलाई अस्थायी आवासको व्यवस्था गर्न ढिलाई गर्न नहुने माग गरेका छन् । सहभागीहरुले जनताको समस्या समाधान गर्न सम्बन्धित निकायले जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्ने माग गरेका छन् । त्रिशूली पारी जोड्ने अस्थायी पुल निर्माण गरिए राहत, पुर्नस्थापना तथा आवतजावतको समस्या ७० प्रतिशत समाधान हुने उनीहरुको भनाई छ ।














