बिदुरः बाढीले प्रभावित पारेको नुवाकोटको बिदुर नगरपालिकाले पुर्नउत्थान कार्यक्रम अगाडि सारेको छ । एकिकृत बस्तीको कार्यक्रम कायाृन्वयन गर्न सरोकारवालाले माग गरेका छन् । लेन्देखोला हुदै भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा गत भदौ १० गते आएको अकल्पनीय बाढीले नुवाकोटमा मात्रै एकहजार चारसय ७२ पूर्ण र चारसय ८३ आंशिक गरि कुल एकहजार नौसय ५५ घर बाढीले क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीले बिदुर नपाको १, ३, ४, ५, ६, ७, ८, ९ र १०, बेलकोटगढी नपाको ५, ७ र ८, तारकेश्वर गापाको २ र ४ तथा किस्पाङ गापाको ५ नं वडामा ठुलो क्षति गरेको छ ।


विनाशकारी बाढीबाट विदुर नपामा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै विपद्पछिको उद्धार, राहत, पुनःस्थापना, पुनर्निर्माण तथा दीर्घकालीन विपद् व्यवस्थापनका विषयमा नपास्तरीय विपद् व्यवस्थापन समितिमा विस्तृत निर्णय भएको मेयर राजन श्रेष्ठको भनाई छ । उनका अनुसार विपद्पछिको अवस्थाको यथार्त मूल्याङ्कन, वडास्तरबाट संकलित तथ्याङ्कको प्रमाणीकरण तथा अनुमोदन, तत्कालीन आवश्यकता पहिचान, क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा आगामी दिनमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तथा अवधारणाका विषयमा समितिमा छलफल गरी देहायका प्रस्तावहरू जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पेश गरिएको छ ।

बाढी प्रभावितको पुनरुत्थानमा जोड दिँदै विदुर नपाले बाढीबाट प्रभावित नगरवासीको दैनिक जनजीवन सहज बनाउन खोज तथा उद्धार, राहत वितरण तथा होल्डिङ सेन्टर सञ्चालनको चरणलाई क्रमशः व्यवस्थापन गर्दै अब पुनरुत्थानका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । बाढी प्रभावितका लागि सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई क्रमशः हटाउँदै प्रभावित परिवारका लागि कोठा तथा आवासको व्यवस्थापन गर्ने र पुनरुत्थानका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको मेयर श्रेष्ठले जानकारी दिए । बाढीले घरवारविहीन भएकाहरुलाई एकीकृत बस्ती पुनर्निर्माणमा जोड दिनुपर्ने सहभागीहरुले वताए । विदुर नपा ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले बाढीपछिको पुनर्निर्माणमा एकीकृत बस्ती निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले बाढीका कारण रसुवाबाट विस्थापित भई विदुर नगरपालिका–५ मा आएर बसिरहेका परिवारहरूको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए । वडाध्यक्ष न्यौपानेले “अबको पुनर्निर्माणमा एकीकृत बस्ती निर्माणमा जोड दिनुपर्ने, बाढीमा परेर हराइरहेका व्यक्तिहरूको परिवारको चाहनाअनुसार काजक्रिया गरिएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने, बाढीका कारण रसुवाबाट विस्थापित भई धेरै परिवार यतिबेला बिदुर ५ मा आएर बसिरहेका छन्, उनीहरूको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने” माग गरे । यसका साथै बिदुर नपाले विदुर नपा १ ढुङ्गे कृषि विकास बैंक र कृषि विकास कार्यालय वीचबाट त्रिशूली जलविख्ुत गृह जोड्ने त्रिशूली नदीमा बेलीव्रीज निर्माणको प्क्रिया सन्चालन गर्ने, बाढीमा बेपत्ता भई हालसम्म पनि शव नभेटिएका तथा परिवारले धार्मिक संस्कार अनुसार कार्य समेत गरी सकेकाहरुको मृत्यु दर्ता गर्ने, संघीय तथा प्रदेशका कार्यालयहरुले सडक पुनःनिर्माण गर्दा पुरानै एलाईनमेन्ट अनुसार गर्ने, नगद वितरण सम्बन्धमा नगरपालिकाको खातामा जम्मा गरी एकद्धार प्रणालीबाट वितरण गर्न अनुमती लिनेलगायतको निर्णय गरिएको मेयर राजन श्रेष्ठले वताए ।

बाढीबाट मृत्यु भई पहिचान नभएका शबहरुको व्यवस्थापनको लागि विदुर नपा ६ स्थित केन्द्रिय कारागारको जग्गामा सुरक्षितसाथ शव व्यवस्थापन गर्नको लागि घेराबार गर्न यस कार्यालयबाट लागत अनुमान तयार गरी कार्य भइरहेको हुँदा सो कार्य सम्पन्न गरी लागेको कुल पांचलाख ७१ हजार रुपैया खर्च जिल्ला विपद् व्यवस्थापन समितिमा शोधभर्ना माग गरिएको छ । बाढी प्रभावितहरुको लागि सुरक्षित आवास निर्माणका लागि जग्गा सट्टा पट्टा÷प्राप्ती गर्ने कानूनी व्यवस्था गर्ने, बाढी प्रभावितहरुको घर जग्गा आवास प्रयोजनका लागि उपयोग गर्न प्रमाणिकरण गर्ने, विदुर नपा ४ सिमचौरदेखि विदुर १२ गौरीबेशी जोड्ने त्रिशूली नदीमा बेलिव्रिज निर्माण गर्ने, वडा विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका एहजार सातसय नौ जना लाभग्राहीहरुको विवरण प्रमाणीकरण गरी सो अनुसारको रकम निकासा माग गर्ने निर्णय गरेको छ ।






