बिदुरः भोटेकोसी हुदैँ रसुवागढीवाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले सिनित्त पारेको नुवाकोटको त्रिशूलीस्थित क्याम्पस पुर्नस्थापना गरिएको छ । क्याम्पस स्थानान्तरण गरि कार्यालय सन्चालन गरिएको छ । भदौ १० गते वुधवार विहान १० वजे आएको प्रलयकारी बाढीले बिदुर नगरपालिका १ त्रिशूलीवजारमा रहेको त्रिभुवन त्रिशूली क्याम्पसको सम्पुर्ण संरचना वगायो । तीन सातापछि उक्त क्याम्पस अस्थायी रुपमा स्थानान्तरण गरिएको हो ।


विनाशकारी बाढीबाट वढारिएको त्रिशूली क्याम्पसले वुधवारदेखि साविक स्टार बोर्डिङ रहेको प्राधिकरणको भवनबाट कार्य सञ्चालन सुरु गरेको छ । क्याम्पस सञ्चालनसँगै नयाँ भर्ना, प्रशासनिक काम तथा परीक्षा सम्बन्धी सम्पूर्ण कार्य सुचारु भएको क्याम्पसले जनाएको छ । स्नातक तहको प्रथम वर्ष र तेस्रो वर्षको परीक्षा फाराम खुला भएकाले फाराम भर्न छुटेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा सम्पर्क गरी फाराम भर्न क्याम्पसले अनुरोध गरेको छ । विपत्तिले भौतिक संरचना भत्काए पनि शैक्षिक यात्रा निरन्तर अघि बढइएको उक्त क्याम्पसका अध्यक्ष राजेशमान श्रेष्ठले वताए ।

नुवाकोटको पश्चिमी भेग र रसुवा जाने मुल सडकमार्ग रहेको ऐतिहासिक ढुङ्गे बजारलाई बाढीले तहसनहस गरेपछि उक्त स्थानको मौलिकता संरक्षण गरिनु पर्ने स्थानीयवासीले माग गरेका छन् । सुरक्षित रुपमा उक्त स्थान पुनः उठाउनुपर्ने युवा समुदायले माग गरेका छन् । नुवाकोटको बिदुर नगरपालिका १ स्थित ऐतिहासिक ढुङ्गे बजार क्षेत्र त्रिशूली नदीमा आएको विनासकारी बाढीका कारण यतिबेला बगरमा परिणत भएको छ । वाह्रै महिना सधैँ चहलपहलले व्यस्त र भरिभराउ रहने ऐतिहासिक ढुङ्गे बजार बाढीको विनाशपछि उजाड वगर बनेको छ ।

यद्यपि, अव हामीले यही बगरबाट ढुङ्गे बजारलाई फेरि माथि उठाउनुपर्ने समय आएको स्थानयि युवा राजु शाक्यको भनाई छ । उनका अनुसार यो केवल ढुंगे बजार पुनर्निर्माणको विषय होइन, नुवाकोटको इतिहास, पहिचान र भविष्यलाई पुनः उभ्याउने अभियान हो । ढुङ्गे बजारलाई फेरि जीवन्त बनाउन सबैको साथ, सहयोग र प्रतिबद्धता आवश्यक रहेको अर्का युवा राजेन्द्र धमलाको भनाई छ । ढुंगे नुवाकोटको बिदुर र त्रिशूलीको वीचमा रहेको छ ।





