बिदुरः नुवाकोटको किस्पाङ गाउँपालिकका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । बाढी प्रभावित नुवाकोटका जनप्रतिनिधिसंग प्रधानमन्त्रि बालेन्द्र शाहको विशेष वैठकमा सहभागी भएका गापा अध्यक्ष तामाङ सोमवार सिंहदरबारबाटै पक्राउ परेका हुन् । बाढी प्रभावित नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गापालगायतका नुवाकोटका दुवै क्षेत्रका जनप्रतिनिधिसँग प्रमले सिंहदरवारमा गरेको बाढीले प्रभाव पारेको सन्दर्भमा आयोजित शिवेष बैठकमा अध्यक्ष तामाङ पनि सहभागी भएका थिए ।


बैठकलगत्तै उनलाई सिंहदरबारबााट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अरुण अर्यालको जाहेरीले अध्यक्ष तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो । प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्नका लागि सोही वृत्तले अनुमति मागेको र सोहीबमोजिम पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । काठमाडौं जिल्ला अदालतमा आइतवार मात्र प्रहरीवृत्त दरवारमार्गले किस्पाङ गापा अध्यक्ष तामाङलाई पक्राउ गर्न अनुमति लिएको थियो ।







