बिदुरः भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको त्रिशूलीमा दुई वटा पक्कि पुल वगाएपछि अवरुद्ध रहेको सडकमार्ग सुचारु गर्न विकल्प अनुसार कार्य सुरु गरिएको छ । त्रिशूली नदीमा ह्युमपाइप राखेर आवागमन सुचारु गर्ने कार्य सुरु भएको छ । बिदुर नगरपालिका १ ढुङ्गे स्थित त्रिशूली नदीमा ह्युम पाइप राख्न काम सुरु भएको छ ।


भोटेकोसी हुदै त्रिशूली नदीमा आएको भीषण बाढीले पक्कि पुल बगाएसगैँ त्रिशूली बजार स्थित त्रिशूली नदी वारपार गर्न भइरहेको असहज परिस्थितीलाई तत्कालीन रुपमा सहज बनाउने उद्धेश्यले नदीमा ह्युमपाइप राख्न सुरु गरिएको बिदुर नगरपालिकाले जनाएको छ । उक्त कार्यका लागि गरिएको प्राविधिक अध्ययन अनुसार ढुङ्गे स्थित कृषि विकास कार्यालय र बिदुर १ को वडा कार्यालयको पछाडीतर्फ नदीको दुई किनारमा रहेका दुई ठूलो ढुङ्गा रहेको स्थानमा ह्युमपाइप राखेर आवतजावत गराउन सकिने भएकाले उक्त कार्यको सुरुवात भएको मेयर राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक अध्ययन सहितको कार्यतालिका पेश गर्नको लागी निर्माणमा सलग्न हुन इञ्छुक शालिक कन्स्ट्रक्सनलाई कार्यदेश दिइएको छ ।

बाढीले पुलमा क्षति पु¥याएपछि रोकिएको विदुर–१ ढुङ्गेबाट त्रिशूली बजारतर्फको आवतजावत सुचारु गराउन ह्युम पाइप राखेर अस्थायी रुपमा बाटो सञ्चालन गर्ने प्रयास थालिएको हो । ह्युमपाइप राख्न सकिने वा नसकिने विषयमा तीन दिनभित्र टुङ्गो लाग्ने र राख्न सकिने अवस्था भएमा थप एक साताभित्र काम पुरा गरी आवतजावत सञ्चालन गर्ने लक्ष्य रहेको मेयर श्रेष्ठले जानकारी दिए । यसका लागि मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, प्राविधिक प्रमुख सेनानीहरु निश्चयजंग रायमाझी, विश्व केसी र सविर शाक्यसहितको नेपाली सेनाको प्राविधिक अधिकृतहरु, पूर्वाधार विकास कार्यायका प्रमुख सुजन थापासहित विभिन्न वडाका वडाध्यक्षहरु, निर्माण व्यवसायीको तर्फबाट शालिकराम श्रेष्ठलगायतको टोलीले त्रिशूली नदी वारपारको लागी छिटो, सरल र सहज माध्यमको रुपमा ह्युमपाइप राख्न सक्ने अबस्थाको प्राविधिक प्रतिवेदन सहित कार्यतालिका पेश गर्न निर्माण व्यावसायीलाई तीन दिनको समय दिइएको हो ।

बाढीपछि अवरुद्ध सडकमार्ग खुलाउन नुवाकोटका चारै स्थानीय तहको प्रयास जारी रहेको छ । बिदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ र म्यागङ गाउंपालिका क्षतिग्रस्त सडक पुर्ननिर्माण तथा मर्मतमा सक्रिय भएका छन् । गल्छी–देवघिाट–बिदुर सडकमार्गको वीचमा रहेको ठूलो खोलाको पुलमाथिबाटै खोला वगेपछि त्यसको नियन्त्रणको कार्य सुरु भएको छ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले डुबानमा पारेको बेलकोटगढी नपा–७ र ८ जोड्ने ठूलो खोलाको पुल बाढी, वालुवा, ग्रेगरले पुरिएपछि हाल खोला पुलमाथिबाटै बगिरहेको छ ।

बेलकोटगढी नपा वाघखोरले नियन्यणको कार्य गर्दै पुलमा थुप्रिएको बाढी, वालदुवा र ग्रेगर हटाएर आवतजावत सुचारु गराउने काम जारी राखेको छ । उता, बाढीबाट क्षतिग्रस्त नुवाकोटका विभिन्न झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको छ । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट, रसुवा र धादिङका झोलुङ्गे पुलको मर्मत कार्य अगाडि बढाइएको छ । अत्यावश्यक तथा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने पुललाई प्राथमिकतामा राखिएको छ ।

यसैक्रममा बेलकोटगढी नपा–५ केउरेनीबाट धादिङको गल्छी गाउँपालिका–१ कल्लेरी जोड्ने झोलुङ्गे पुलमा भएको क्षतिको मर्मत भइरहेको छ । पुल मर्मतसँगै पीडित तथा स्थानीयवासीको आवागमन सहज हुने अपेक्षा गरिएको छ । यसका साथै भोटेकोसी हुदै त्रिशूली नदीमा आएको भीषण बाढीले सडक, पुल क्षति गरेसगैँ अबरुद्ध भएको आवागमन सुचारु गराउने क्रममा बिदुर नपा १० स्थित २ नं पुलबाट बिदुर नपा ९ स्थित सिलट्याङ्की जोड्ने गरेर तुइन, झोलुङ्गे पुल, बेलीब्रिज के राख्न मिल्ने हुन्छ? तत्कालै सोही अनुसारको पूर्वाधार निर्माण गरिने मेयर राजन श्रेष्ठले वताए । श्रेष्ठसहित प्राविधिक टोलीबाट स्थलगत अवलोकन गरि प्राविधिक टोलीलाई उक्त स्थानको अध्ययन गरेर जतिसक्दो छिट्टो प्राविधिक प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको छ ।








