बिदुरः नुवाकोटको प्रसिद्ध देवीघाटस्थित वृद्धाश्रममा नगद तथा जिन्सी सामग्रीहरु प्राप्त भइरहेका छन् । यसवाट आश्रित वृद्ध बाआमाहरुको दैनिक भोजनका लागि सुविधा पुगेको छ । बिदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरुको दैनिक भोजनका लागि विभिन्न दाताहरुले जिन्सी तथा नगद सामग्रीहरु प्रदानगरिरहेका छन् ।


बिदुर नपा १० माझगाउँका गोमाकुमारी घिमिरेले पति होमनाथ घिमिरेको १५औं पुण्य दिनको अवसरमा प्रतिष्ठानमा पुगेर वृद्ध बाआमाहरूको भोजनको लागि विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ ? आफु मेटाइ अरुलाइ दिनु जहाँ छ भन्ने मुल नारासहित घिमिरेले १३ पाथी चामल, ४० किलोग्राम चिनी, ४० केजि मिस्री, एक क्वीन्टल आटा, स्याउ ३ कार्टुन र दक्षिणासहित खाद्य सामग्री हस्तान्तरण गरिन् । यसवाट प्रतिष्ठानमा आश्रित ३५ जना वृद्ध बाआमाहरूलाई दैनिक भोजनका लागि सुविधा पुगेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले वताए ।

यसका साथै नुवाकोटकै बिदुर नपा २ बिदुरका रामकाजी थापागोदार र उनकी धर्मपत्नी सुशीला गोदारले आफ्नो छोरा रबिन्द्र थापागोदारको जन्मोत्सवको अवसरमा प्रतिष्ठानमा पुगेर आर्थिक सहयोग गरेका छन् । थापागोदार परिवारले नगद १० हजार रुपैया हस्तान्तरण गरेका हुन् । साथै, नुवाकोटको छिमेकी रसुवाको कालिका गाउँपालिका ५ जिबजिबे निवासी नानिमैया देबकोटाले आफ्नो ५३ औं जन्मोत्सवको अवसरमा प्रतिष्ठानमा पुगेर नगद सहस्योग गरेकी छन् । उनले वृद्ध बाआमाहरुको भोजनको सहजताका लागि नगद १० हजार रुपैया हस्तान्तरण गरेकी हुन् ।











