बिदुरः गाउंवासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले नुवाकोटसंगै जोडिएको रसुवाको एक स्वास्थ्यचौकीलाई आधुनिक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरिएको छ । टेलिमेडिसिन सेवा सन्चालनका लागि सुविधा पुगेको छ । उत्तरगया गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तार गर्ने उद्देश्यले ठुलोगाउँ स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको हो ।


सामग्रीहरु औपचारिक रूपमा स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै उत्तरगया गापा अध्यक्ष माधवप्रसाद अर्यालले ग्रामीण भेगका विरामीहरुलाई यसवाट उपचार सेवामा मद्धत पुगेको वताए । सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले स्वास्थ्य उपकरणहरुको प्रभावकारीता र सुरक्षामा ध्यान दिदै सर्वसधाारणलाई स्वास्थ्य सेवा दिन आग्रह गरे । उत्तरगया गापाका अनुसार टेलिमेडिसिन सेवा सञ्चालनमा आएपछि गाउंवासीले आफ्नै स्वास्थ्य चौकीबाट विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श तथा उपचार सेवा पाएका छन् ।

ग्रामीण स्थानमा सर्वसाधारणको स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्यसहित गाउँपालिकाले टेलिमेडिसिन सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । गाउंवासीको उपचारका लागि उपकरण प्रापत भएपछि स्वास्थ्यचौकीका स्वास्थ्य प्राविधिकहरुसमेत उत्साहित भएका छन् ।





