बिदुरः नायक नवल खड्का विभिन्न सम्मानद्वारा सम्मानित भएका छन् । चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण र जनचेतनाको अभियान सञ्चालन गरेको कदर स्वरुप उन िसममानित भएका हुन् । चलचित्र ’भीमदत्त’ र ’काँडेतार’को योगदानको उच्च मूल्याङ्कनसमेत गरिएको छ । नायक, निर्माता तथा अभियन्ता खड्का दुई दिनको अवधिमा दुई प्रतिष्ठित राष्ट्रिय सम्मानबाट सम्मानित भएका हुन् ।


सहिद भीमदत्त पन्तको जीवनसंघर्ष, बलिदान र योगदानलाई चलचित्र ’भीमदत्त’ मार्फत नयाँ पुस्तासम्म पु¥याएको तथा पन्तलाई मृत्युपश्चात् सहिदको मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेको योगदानको उच्च कदर गर्दै अखिल मजदुर किसान महासंघले भीमदत्त स्मृति दिवसका अवसरमा नायक खड्कालाई सम्मान गरेको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे र किसान संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठले संयुक्त रूपमा नायक खड्कालाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।

सम्मान ग्रहणमा नायक खड्काले सहिद भीमदत्तलाई स्मरण गर्दै “कि त जोत हलो, कि त छोड थलो, बिना जोती हलो अब हुन्न भलो, जनतालाई रोटी, रोजी, कपडा दे, नत्र गद्दी छोडी दे” भने । उनले यो नारा नभई जनताको अधिकार, सम्मान र न्यायको घोषणापत्र भएको उल्लेख गर्दै भीमदत्त पन्त अन्याय, शोषण र सामन्ती व्यवस्थाविरुद्ध जीवनभर संघर्ष गर्ने महान् जनयोद्धा भएको बताए । सहिद भीमदत्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका अधुरा सपना पूरा गर्नु नै सच्चा सम्मान हुने धारणा व्यक्त गरे ।

यसैगरी, देशभक्तिपूर्ण चलचित्र ’काँडेतार’ मार्फत सीमा सुरक्षा, सीमा नियमन तथा नेपाल–भारत सीमामा काँडेतार बार लगाउनुपर्ने विषयलाई राष्ट्रिय बहसका रूपमा स्थापित गर्दै व्यापक जनचेतना फैलाएको योगदानको कदरस्वरूप नायक खड्का ’जनजागरण स्रष्टा सम्मान–२०८३’ बाट सम्मानित भएका छन् । जन सांस्कृतिक महासंघ नेपाल, इन्द्रेणी सांस्कृतिक विकास केन्द्र र नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वागमति प्रदेश सभा सदस्य सरल सहयात्रीले उक्त सम्मान प्रदान गरे । नायक खड्कालाई प्राप्त यी दुई सम्मानलाई चलचित्रमार्फत राष्ट्रियता, इतिहास संरक्षण, सीमा सुरक्षा र जनजागरणका क्षेत्रमा नवल खड्काले पु¥याएको योगदानप्रतिको उच्च सम्मानका रूपमा हेरिएको छ ।







