बिदुरः वर्षायाममा नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा विपद्जन्य घटनाप्रति समयमै सक्रियता अपनाउन सघीय मन्त्रिको ध्यानाकर्षण गराइएको छ । सरोकारवाला निकायलाई विपद नियन्त्रणका लागि सक्रियता अपनाउन मन्त्रिले निर्देशन दिएका छन् । सूचना तथा सन्चारमन्त्रि डा. विक्रम तिमिल्सिनाको ध्यानाकर्षण गराउंदै विपदका घटना नियन्त्रण तथा न्युनीकरणका लागि सर्वसाधारणले माग गरेका हुन् ।


अविरल तथा भारी वर्षाका कारण नुवाकोटका विभिन्न स्थानहरुमा विपदजन्य घटनाप्रति सचेत गराउंदै न्युनीकरण र नियन्त्रणको लागि आवस्यक पहकदमीको माग गरिएको हो । सर्वसाधारणले विशेषगरी दुप्चेश्वर, सूर्यगढी, तादी, तथा पञ्चकन्यालगायतका गापामा विपद्का घटनाहरूप्रति सचेत गराउंदै त्यसको नियन्त्रण र न्युनीकरणको माग गरेका हुन् । नुवाकोट–१ का प्रतिनिधिसभा सदस्यसमेत रहेको मन्त्रि डा. विक्रम तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सरोकारवाला कार्यालय, सम्बन्धित निकायहरूसँग तत्काल समन्वय गरी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन, नागरिकको सुरक्षा सुनिश्चितता, आवश्यक उद्धार तथा राहत कार्यको प्रभावकारी सञ्चालन र क्षतिको यथार्थ विवरण संकलनका लागि आवश्यक पहल गरेका हुन् ।

मन्त्रि डा. तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायहरूसँग विपद नियन्त्रण तथा न्युनीकरणको कार्य गर्न निर्देशन दिएका छन् । मन्त्रि डा. तिमिल्सिनाले सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख बद्री शर्मालाई अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा प्राकृतिक विपद् तथा त्यसबाट सडक, यातायातलगायतका पूर्वाधारमा पुगेको क्षतिको मर्मातसम्भार तथा सन्चालनको निर्देशन दिएका छन् । उनले प्रभावित क्षेत्रमा सडक सञ्चालन सहज बनाउन आवश्यक कार्य गर्न निर्देशन दिँदै, मर्मत तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएका हुन् ।

यसका साथै विद प्रभावितहरूको अवस्था, आवश्यकताहरू तथा राहत व्यवस्थापनमा तयारी रहन जिल्ला विपद वयवस्थापन समितिलाई सक्रियता अपनाउन निर्देशन दिएका छन् । वर्षात्को समयमा आमनागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन एवं सुरक्षा निकायबाट जारी गरिएका सूचना र निर्देशनहरूको पूर्ण पालना गर्न सचेत गराइएको छ । आम नागरिकहरूलाई विपद्सम्बन्धि सूचना, क्षतिको विवरण, तत्काल सहयोग आवश्यक भएका विषयहरू तथा क्षेत्रका अन्य जनचासोका समस्या एवं सुझावहरू सरोकारवाला निकायमा उपलब्ध गराउन अनुरोध गरिएको छ ।







