बिदुरः ज्योति विकास बैंकले स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यक्रमहरु सार्वजनिक गरिएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत विभिन्न प्रभावकारी कार्यक्रमहरूको घोषणा तथा सम्बन्धित संस्थाहरूसँग सम्झौतासमेत गरेको छ । बैंकले तिलगंगा इन्सटिच्युट अफ अफ्थाल्मोलोजीसँगको सहकार्यमा ४० जना विपन्न तथा लक्षित वर्गका व्यक्तिहरुलाई निःशुल्क आँखादान शल्यक्रियामा सहयोगको लागि सम्झौता गरेको छ ।


यस शल्यक्रिया पश्चात् अन्धकारमय जीवन बिताइरहेका नागरिकहरूले फेरि एक पटक संसारको उज्यालो र सुन्दरता आँखाभरि भर्ने छन्, र यो पुनर्जागरण बैंकको सामाजिक उत्तरदायित्वको सबैभन्दा अर्थपूर्ण उपलब्धिमध्ये महत्वपुर्ण हुने वैंकले जनाएको छ । यसका साथै, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर उपकरण जडान गरिने वैंकले जनाएको छ । ति उपकरणहरूले नवजात शिशुहरूको जीवनरक्षा गर्न तथा नवजात शिशुहरुलाई अल्पतापको जोखिमबाट सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

ति कार्यक्रमहरूले स्वास्थ्य सेवामा सीमित पहुँच भएका तथा सेवाबाट वञ्चित समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्दै उनीहरूको जीवनमा सकारात्मक र दिगो प्रभाव पार्ने बैंकको विश्वास रहेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले कर्मचारी तथा उनीहरूका बालबालिकामा निहित प्रतिभा, सिर्जनशीलता र कलात्मक क्षमताको पहिचान, प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ज्योतिज गट ट्यालेण्टको तेस्रो संस्करण आयोजना गरेको थियो । विविध कलात्मक तथा सिर्जनात्मक प्रस्तुतिहरू समावेश गरिएको प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा सहभागीहरूलाई उनीहरूको उत्साहजनक सहभागिता तथा प्रतिभाको कदरस्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो । सहज पहुँचसहितको बृहत वित्तीय सेवा तथा वित्तीय सूचना प्रवाहमार्फत समस्त नागरिकको जीवनमा सार्थक र दिगो समृद्धि ल्याउने मूल उद्देश्यका साथ गत २०६५ साल साउन ९ गते स्थापना भएको विकास बैंकले गौरवमय १८ वर्षको यात्रा पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको हो । बैंकको केन्द्रीय कार्यालयको परिसरमा आयोजित वार्षिकोत्सवको बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, पूर्व अध्यक्षहरु, पूर्व सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय तथा बैंकका शाखा कार्यालयहरुको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा बैंकका कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब ५५ जनाले रक्तदान गरी मानवीय सेवामा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । उक्त अवसरमा कर्मचारीहरूको स्वास्थ्यप्रति बैंकको उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण शिविरसमेत सञ्चालन गरिएको थियो ।

समारोहमा बैंकको संस्थागत अभ्युदय, सुदृढीकरण तथा प्रगतिमा अविच्छिन्न रूपमा समर्पित योगदान, अटुट निष्ठा र दीर्घकालीन सेवाको उच्च कदर गर्दै बैंकमा निरन्तर १० वर्ष तथा १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बैंकको १८ वर्षको सफल यात्रालाई सार्थक बनाउन निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।आगामी दिनहरूमा समेत सबै सरोकारवालाबाट यथावत् सहयोग, सद्भाव र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले बैंक वित्तीय सेवाको विस्तारसँगै सामाजिक समृद्धि, संस्थागत सुदृढीकरण तथा कर्मचारीहरूको क्षमता विकासमा निरन्तर प्रतिबद्ध र क्रियाशील रहने उल्लेख गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारीवर्ग, शेयरधनी, ग्राहकवर्ग तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । बैंकले वितेको १८ वर्षमा प्राप्त गरेका संस्थागत उपलब्धि, सेवामूलक पहल तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित विविध कार्यक्रमहरूबारे प्रकाश पार्दै उनले बैंकले आत्मसात् गरेको उद्देश्य, ध्येय र संस्थागत आकांक्षालाई मूर्तरूप दिन आगामी दिनमा अझ सुदृढ, प्रभावकारी र परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी ज्योति विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्राहकमैत्री डिजिटल पूर्वाधार र प्रविधिमैत्री सेवा–सुविधाहरूलाई निरन्तर परिष्कृत गर्दै अघि बढेको सो बैंकले हाल १० लाख भन्दा बढी ग्राहक संख्या पुर्याई ग्राहकहरूको अटुट विश्वास आर्जन गर्न सफल भएको जनाएको छ । साथै, स्थापनाकालदेखि हालसम्म बैंकले प्रत्यक्ष रूपमा तीनहजार भन्दा बढी परिवारलाई रोजगारीको अवसर प्रदान गर्दै राष्ट्रिय रोजगारी सिर्जनामा समेत सार्थक योगदान पु¥याइरहेको छ ।

बैंकले राष्ट्रप्रति आफ्नो दायित्व वहन गर्दै गत आर्थिक वर्षको असार मसान्तसम्म झण्डै ७६ करोड राजस्व स्वरुप बुझाइसकेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एकसय १७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।





























