बिदुरः पुराना नेपाली चलचित्रहरूको विशेष प्रदर्शनी आयोजना गरिएको छ । ‘ओल्ड इज गोल्ड’ भन्ने नाराका साथ १० पुराना ऐतिहासिक नेपाली चलचित्रको विशेष प्रदर्शनी आयोजना गरिएको हो । चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा नेपाली चलचित्रको ऐतिहासिक विरासतलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले १० पुराना ऐतिहासिक नेपाली चलचित्रको विशेष प्रदर्शनी निःशुल्क आयोजना गरिएको हो । यहि साउन २२ गते शुक्रबारदेखि २७ गते बुधबारसम्म चलचित्र विकास बोर्डको हलमा चलचित्र हेर्न पाइनेछ ।


निःशुल्क प्रदर्शनीअन्तर्गत ऐतिहासिक नेपाली पुराना चलचित्र ‘आमा’, ‘सिन्दुर’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिने चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । उनका अनुसार एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ । दुईवटा चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ ।

नेपाली चलचित्रको इतिहास, तत्कालीन समाज, संस्कृति, भाषा, जीवनशैली तथा निर्माण परम्परालाई नजिकबाट बुझ्ने यस विशेष अवसरमा सम्पूर्ण चलचित्रकर्मी, विद्यार्थी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा चलचित्रप्रेमी दर्शकलाई आमन्त्रण गरिएको छ । केहि दिन अगाडि मात्र उक्त १० ऐतिहासिक नेपाली चलचित्रले ‘युनिभर्सल’ प्रमाणपत्र पाएका थिए । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित गरिएका १० ऐतिहासिक नेपाली चलचित्रको जाँचपास प्रक्रिया सम्पन्नसमेत भएको हो ।
जाँचपास भएका सबै चलचित्रले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन् । चलचित्रहरूको जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र सूचना तथा सन्चारमन्त्रालयका सहसचिव उदयबहादुर राणाले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई हस्तान्तरण गरेका थिए । यी ऐतिहासिक पुराना नेपाली चलचित्र नेपाली चलचित्रको विकासक्रम, तत्कालीन समाज, कला, संस्कृति, भाषा, जीवनशैली तथा चलचित्र निर्माण प्रविधिको अध्ययनका लागि महत्त्वपूर्ण दृश्य–श्रव्य सम्पदा भएको अध्यक्ष डिसीको भनाई छ ।

जाँचपास सम्पन्न भएसँगै अब यी ऐतिहासिक चलचित्रलाई चलचित्र महोत्सव, विशेष प्रदर्शनी, शैक्षिक कार्यक्रम तथा अन्य सार्वजनिक कार्यक्रममा प्रदर्शन गर्ने बाटो खुलेको छ । चलचित्र विकास बोर्ड नेपाली चलचित्र इतिहाससँग सम्बन्धित पुराना तथा दुर्लभ चलचित्रको खोजी, सङ्कलन, डिजिटाइजेसन, अभिलेखीकरण, संरक्षण र पुनःप्रदर्शनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । नेपाली चलचित्रको अमूल्य इतिहासलाई संरक्षण गर्दै नयाँ तथा भावी पुस्तासम्म पु¥याउने वोर्डको अभियान निरन्तर जारी रहेको जनाइएको छ ।





