बिदुरः रघुजी फिल्म्सको पहिलो प्रस्तुति चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को छायांकन सुरु भएको छ । साउने सोमबारको अवसरमा उक्त चलचित्रको औपचारिक रूपमा फ्लोरमा गई छायांकन सुरु भएको हो । पूर्ण मनोरञ्जनात्मक हास्य जनरामा निर्माण हुन लागेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक छायांकन सुरु गरिएको हो । यस चलचित्रमा चर्चित गायिक अन्जु पन्तकी छोरी परितोषिका पन्त तथा गायक पशुपति शर्माको मुख्य अभिनय रहनेछ ।


हाँस्यव्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको चलचित्रमा चर्चित हास्य कलाकारहरुको जमघट रहनेछ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण सुरु भएको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको एक सातामै सोमवारदेखि छायांकन सुरु गरिएकोे निर्माण पक्षले जनाएको छ ।
यस चलचित्रको लागि कलाकार तथा प्राविधिक टोलीको छनौट गरिएसंगै छायांकन सुरु भएको हो । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन सुरु भएको चलचित्रका निर्माता रघुनाथ सापकोटाले वताए ।

उनले यस चलचित्रले नेपाली समाजको अवस्थाको चित्रण गर्ने वताए । उनले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य प्रोजेक्टहरू पनि यस चलचित्रपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने वताए । यस चलचित्रका गीत सफल तथा चर्चित गायक पशुपति शर्माले तयार गरेका छन् भने छायाङ्कन संकल भुजेलले सम्हालेका छन् । निरज नेपाल कार्यकारी निर्माता रहेको चलचित्रमा शमशेर लामाको श्रृंगार र जीवन पोखरेल भेषभुषाको जिम्मेवारीमा छन् ।

चलचित्रमा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, उत्तम केसी, सुनील कटुवाल, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, वेगम नेपाली, बिरबल घले, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना, राजु तिमल्सिनालगायतका कलाकारहरूको अभिनय रहनेछ । आरआर फिम्सले वितरणको जिम्मेवारी लिएको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, गायक पशुपति शर्मा र कमेडियन प्रभात लामालाई डेब्यू गराउदै निर्माण गर्न लागिएको चलचित्र “तीन तिघ्रे क्या बिग्रे“को रघुनाथ सापकोटा र निरज नेपालले निर्माण सुरु गरेका हुन् । एक महिनाको छायांकन तालिका रहेको निर्माण पक्षले जनाएको छ ।





