बिदुरः नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रमलाई आर्थिक सहयोग जुटेको छ । आश्रित वृद्धवृद्धाहरुको दैनिक भोजनका लागि खाद्यान्नसमेत हस्तान्तरण गरिएको छ ।
बिदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको संरक्षणमा आश्रित ज्येष्ठ नागरिकहरुको हाई केयर युनिट निर्माणार्थ बिदुर नपां १३ कल्याणपुर घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका युवा सामाजिक अगुवा नवीन कोइरालाले नगद १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । प्रतिष्ठान पुगेर कोइरालाले अध्यक्ष विष्णुप्रसाद नेपाललाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।


सहयोगी नारायणप्रसाद कोइराला तथा उनकी धर्मपत्नी लक्ष्मी कोइरालाले उक्त प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकहरूको सेवाका लागि निर्माण हुन लागेको हाई केयर युनिट . १५ लाख आर्थिक सहयोग महत्वपुर्ण रहेको जनाउंदै उच्च मूल्याङ्कनस्वरुप प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सम्मानपत्र प्रदान गरी सम्मान गरेका छन् । आफुहरुले ज्येष्ठ नागरिकप्रतिको सम्मान, सेवा र मानवीय भावनालाई सशक्त बनाउन उक्त सहयोग गरिएको कोइरालाले वताए ।

यसैवीच, तादी गाउँपालिका ३ टुटुङका सुमन तामाङले आफ्नोे स्व.माता मनमाया तामाङको सम्झनामा प्रतिष्ठानमा पुगेर आश्रित वृद्ध बाआमाहरूलाई भोजनको लागि चामल ५ बोरा, दाल १० किलोग्राम, सरफ ५ केजी, तेल १ बाक्सा प्रदान गरे । प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका तामाङले धर्मपत्नीसहित पुगेर प्रतिष्ठानमा आश्रित ३४ जना वृद्ध बाआमाहरूलाई भोजन सामग्री हस्तान्तरण गरेका हुन् ।

उता, सुर्यगढी गाउँपालिका ३ फलाटेका राजाराम लामिछाने र उनकी धर्मपत्नी सुभद्रा लामिछनेले आफ्नी छोरी आस्मा लामिछानेको जन्मोत्सवको अवसरमा प्रतिष्ठानमा पुगेर नगद १० हजार रुपैया उपलव्ध गराएका छन् । उक्त रकमले प्रतिष्ठानले वृद्ध बाआमाहरुका लागि भोजनको प्रवन्ध गरिएको छ ।













