बिदुरः आम सर्वसाधारणलाई प्रभावकारी सेवा दिनका लागि नुवाकोटका सरोकारवाला निकायलाई सांसदको टोलीले निर्देशन दिएको छ । सर्वसाधारणले विभिन्न सेवा सन्चालनमा ढिलासुस्ती पाइरहेको गुनासो गरेपछि नुवाकोटका सरकारी अधिकारीसँग प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछानेको टोलीले भेटेर समसामयिक विषयमा छलफलसहितको अन्र्तक्रिया गरेको हो । जिल्ला प्रशासन कार्यालयको हलमा भएको अन्र्तक्रियामा सांसदको टोलीले विकासनिर्माण, सुशासन, पारदर्शिता, गुणस्तरियता, जनसेवा तथा सार्वजनिक क्षेत्रका विषयमा छलफल गरेको थियो ।

उक्त अवसरमा टोलीले गल्छी–देवीघाट–रसुवागढी मार्ग अन्र्तगत गंगटेदेखि ढुङ्गेसम्मको बाटो निर्माण र त्यसको मुआब्जा वितरणको विषय, सार्बजनिक यातायात भाडादरलगायतका विषय उठान गरेको थियो । यसका साथै विभिन्न नदी तथा खोलाहरुमा रातीको समयमा अजवैध रुपमा ढुंगा, गिट्टी, बालुवा तस्करी, लागू औषध दुब्र्यसन, सार्बजनिक यातायात गाडी भाडा दर, जिल्लाको शान्ति–सुरक्षा, सर्वसाधारणको सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापन, वर्षायाममा सडक तथा बाढी–पहिरोबाट उत्पन्न समस्यालगायत जनसरोकारका समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो । सांसद डा. लामिछानेले नागरिकलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन प्रशासनलाई आवश्यक समन्वय र सहकार्यका साथ अघि बढ्न निर्देशन दिएका थिए ।

सांसद डा. लामिछानेले सडक, मुआब्जा, यातायात भाडादर र नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण गर्न प्रहरी प्रशासनले सक्रियता अपनाउनुपर्नेमा जोड दिएका हुन् । उनले जिल्लाको विकास र जनताका समस्याको समाधानका लागि सम्बन्धित निकायबीच समन्वय अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेसँगै रास्वपा जिल्ला सभापति रामेश्वर गजुरेल, नेता जितेन्द्र अर्याल, लक्ष्मी पाण्डे लगायतका सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो । अन्र्तक्रियामा उठाइएका विषयहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने विषयमा प्रजिअ शम्भुप्रसाद रेग्मीले प्रतिवद्धता जनाएको टोलीले जनाएको छ ।
जिल्लाका विभिन्न जनसरोकारका विषय गंगटेदेखि ढुङ्गेसम्मको सडक निर्माणको प्रगति तथा मुआब्जा वितरण, सार्वजनिक यातायातको भाडादरको प्रभावकारी अनुगमन, तथा रातिको समयमा अवैध ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन, चोरी तथा तस्करी नियन्त्रणका विषयमा प्रभावकारी कदम चाल्नुपर्ने टोलीले माग गरेका छ । साथै, जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन, विकास निर्माणका कामलाई प्रभावकारी बनाउने तथा नागरिकका गुनासोको शीघ्र सम्बोधन गर्ने विषयमा अन्र्तक्रिया भएको होे । सांसद डा. लामिछानेले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई प्राथमिकताका साथ समाधान गर्न सम्बन्धित निकाय सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् । उनले प्रशासन र सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।






