बिदुरः लामो समयदेखि कार्यरत विभिन्न विद्याका चलचित्रकर्मीहरूलाई चलचित्र बिकास बोर्डले आधिकारिक परिचयपत्र वितरण गरेको छ । विशिष्ट चलचित्रकर्मी तुलसी घिमिरेसहित एकसय २२ जनालाई एकैपटक परिचय पत्र प्रदान गरिएको छ । बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा मानार्थ, विशेष, विशिष्ट र चलचित्रकर्मी गरी चार फरक श्रेणीमा वर्गीकरण गरेर परिचय पत्र वितरण गरिएको हो ।


बोर्ड अध्यक्ष दिनेश डीसीले एक/एक गर्दै सर्जकहरूको हातमा परिचयपत्र थमाएर सम्मान गरेका हुन् । एकैपटक एकसय २२ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो । परिचयपत्र वितरणलाई बोर्डले केवल “कार्ड बाँड्ने“ प्रक्रियाका रूपमा नभई चलचित्रकर्मीको आधिकारिक पहिचान, अभिलेखीकरण र राज्यसँगको औपचारिक सम्बन्धको प्रमाणका रूपमा प्रस्तुत गरेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।

लामो समयदेखि अनौपचारिक रूपमा रहँदै आएको सर्जक–राज्य सम्बन्धलाई व्यवस्थित गर्ने दिशामा यो मूर्त कदम भएको बोर्डका अध्यक्ष डिसीको भनाई छ । विभिन्न चार श्रेणीमा वर्गीकरण बोर्डले उपलब्ध गराएको परिचयपत्र पाउनेहरूमा कलाकार, चलचित्र निर्देशक, निर्माता, छायाकार, सम्पादक, संगीतकार, गायक, लेखक, गीतकार, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, श्रृंगारकर्मी, वितरक र प्रदर्शकलगायत विविध विद्याका सर्जक रहेका छन् । मानार्थ श्रेणीमा ३ जना अग्रजलाई “विशिष्ट चलचित्रकर्मी (मानार्थ)“ का रूपमा परिचयपत्र प्रदान गरिएको छ ।

वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राईलाई सो सम्मान प्रदान गरिएको छ । विशेष श्रेणीमा ’ब्लाइन्ड रक्स’ मार्फत २०७४ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक भएका मिलन चामलिङ राईलाई परिचयपत्र दिइएको हो । विशिष्ट श्रेणीमा ५० जना सर्जकलाई परिचयपत्र प्रदान गरिएको छ ।

जसमा विपना थापा, रेणु चौधरी, उमेश खड्का, सबला मल्ल (सङ्गम भण्डारी), सत्यदेवी थापा, बद्रीप्रसाद पुडासैनी, सुरेन्द्र केसी, हेमन्त बुढाथोकी, राजु खड्गी, रामभक्त श्रेष्ठ, रोहित कार्की, विष्णुप्रसाद सापकोटा, सञ्जय न्यौपानेलगायत कलाकारहरू रहेका छन् । यसका साथै गणेशप्रसाद सुवेदी (लेखन), कुबेर शर्मा (प्रदर्शन), मनोज राठी (वितरण), जयराम थापा (छायांकन), रविन्द्रकुमार खत्री (श्रृंगार), मानबहादुर थापा (सम्पादन) लगायत प्राविधिक पक्षका वरिष्ठ सर्जकलाई पनि परिचय पत्र प्रदान गरिएको छ । चलचित्रकर्मी श्रेणीमा ६८ जना सर्जकले परिचयपत्र प्राप्त गरेका छन् ।

यस श्रेणीमा अम्बिका सापकोटा (रोशनी), विल्सनविक्रम राई, उत्तर लामा, कृष्णप्रसाद अर्याल, गोकुल सुवेदी, घनश्याम तिमल्सिना, रश्मिला कार्की, सामना सिटौला, बालकृष्ण निरौला, पुस्कर राउत, सरिता राजोपाध्याय, सुदर्शनप्रसाद आचार्य, हरि कुँवर (सञ्जोग राणा), क्षितिजा शाक्यलगायत रहेका छन् । कलाकार, निर्देशक, निर्माता, संगीतकार, गायक, छायाकार, सम्पादक, द्वन्द्व निर्देशक र नृत्य निर्देशक सबै विद्याको प्रतिनिधित्व रहेको वोर्डले जनाएको छ ।


































