बिदुरः उत्पादन वढोत्तरीमा जोड दिदै नुवाकोट र रसुवा जिल्लाका स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूसँग अन्र्तक्रिया गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटले उत्पादन वढाउन प्रभावकारी कार्य गर्नु पर्ने योजनासहित सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्थानीय तहका कृषि प्राविधिकहरूले आफ्नो स्थानीय तहमा रहेको कृषिको समसामयिक अवस्था, समस्या र सम्भावनाका बारेमा जानकारी गराएका थिए ।


उनीहरूले बाली उत्पादन, बजार व्यवस्थापन, सिँचाई, मल–बीउ, किटनासक औषधिको उपलब्धताका विषयमा आआफ्नो धाराणा राखेका थिए । कृषि विकास कार्यालयले तरकारी, फलफूल, बाली विकास, बीउ उत्पादन, खाद्यन्न प्रवद्र्धन लगायतका कार्यक्रमहरू अवलम्वन गर्दै आएको छ । साथै साना सिँचाई, कृषि आधुनिकीकरण, र जलवायु अनुकूल प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ ।
उक्त कार्यक्रममा कृषि सम्बन्धि सरोकारवाला कार्यालयहरू–राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्रम कार्यान्वयन एकाइ, नुवाकोट) र बागवानी विकास केन्द्र, नुवाकोटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख श्रीकृष्ण अधिकारीले चालु आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म भएको प्रगतिको बारेमा जानकारी गराएका थिए ।

उनले कार्यालयले किसानमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि वताए । उनले अगाडि भने, ‘कृषि अनुदान, प्रविधि र सीपलाई गाउँ–गाउँसम्म पु¥याउने कार्य गर्नुका साथै स्थानीय तहसँग सहकार्य गरेर किसानको उत्पादन बढाउने र आयस्तर सुधार गर्ने मुख्य लक्ष्य हो ।’





