बिदुरः खेल पर्यटनको लक्ष्यसहित नुवाकोटमा राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुष रेस्लरका छुट्टाछुट्टै प्रतियोगिता समावेश गरिएको छ । नयाँ वर्ष २०८३ को अवसरमा बैशाख १ गते नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिर परिसरमा रेस्लिङ प्रतियोगिता आयोजना गरिएको नेपाल रिङ रेस्लिङ संघ नुवाकोटले जनाएको छ ।


धार्मिक खेल सहितको पर्यटन प्रवद्र्धन तथा मोफसलमा रिङ रेस्लिङको विस्तार गर्ने उद्देश्यसहित ‘न्यु एयर व्लाष्ट’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा विभिन्न विद्यामा प्रतिस्पर्धा गराइने आयोजक संस्थाका अध्यक्ष प्रल्हाद थापाले जानकारी दिए । बिदुरमा शुक्रवार आयोजित प्रतियोगितामा हेभीवेट (पुरुष) विद्याका विजेताले गोल्डेन बेल्टसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला च्याम्पियनसिप विद्याका विजेतालाई बेल्टसहित ५० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष थापाले वताए । प्रतियोगितामा पुरुष ट्याकटिम हार्डकोर विद्यधाका विजेताले मेडलसहित ६० हजार रुपैयाँ तथा ट्रिपल थ्रेट विद्याका विजेताले मेडलसहित २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा नुवाकोटे टाइगर, साइन, डेविट, चट्टान, किङ रोवर्ट, उर्गेन, ठागु, तनु, आकृति, सुजल, एक्स हिरो, सिजेवल्डलगायत एक दर्जनभन्दा बढी चर्चित नेपाली रेस्लरहरूको प्रतिस्पर्धा रहने संघका महासचिव कमल तामाङको भनाई छ ।

कार्यक्रममा चर्चित कलाकारहरू स्मृति गौतम र मदन थापालगायतले सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । संघले यसअघि पनि विभिन्न स्थानमा यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको थियो । गत २०७८ साल वैशाख १ गते शिवपुरी गाउँपालिकाको सूर्यचौर र २०७९ साल वैशाख १ गते दुप्चेश्वर मन्दिर परिसर र २०७९ साल असोज १५ गते कालिका मावि गुर्जेमा ‘वडादशैं महाभिडन्त’ सम्पन्न गरिसकेको छ ।

आयोजकका अनुसार यस पटकको प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै नुवाकोटमा धार्मिक तथा खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ । यस प्रतियोगितामार्फत दुप्चेश्वर धार्मिक स्थलको प्रचारप्रसार, स्थानीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथ रिङ रेस्लिङ खेललाई काठमाडौं बाहिर पनि चिनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रवेश निःशुल्क रहेकाले सम्पूर्णलाई सो ऐतिहासिक प्रतियोगिताको अवलोकनको लागी आयोजकले अनुरोध गरेको छ ।





