बिदुरः विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्धेश्यले नुवाकोटको विदुर नगरपालिकाले विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मानित गरेको छ । शैक्षिक सत्र २०८१ मा सर्वोत्कृष्ट तथा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यालय तथा विद्यार्थीहरुलाई एकैपटक नगद पुरस्कार सहित सम्मान गरिएको हो ।


विदुर नपाभित्र रहेका ३७ विद्यालयका दुईसय जना विद्यार्थीहरुलाई आइतवार नगद पुरस्कारसहित मेयर राजन श्रेष्ठले सम्मानित गरेका हुन् । उनले यसवाट विद्यार्थीहरुमा शैक्षिक उत्साह र लगावमा महत्व दिएको वताए ।

वितेको शैक्षिक शत्रमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका ३७ विद्यालय, कक्षा १२, एसइइ, कक्षा ८ र कक्षा ५ को परीक्षामा चार जिपिए प्राप्त गर्ने ७ जना सहित ३ दशमलव ८० वा सो भन्दा माथि जिपिए प्राप्त गरेका दुईसय १ जना विद्यार्थीलाई नगद पुरस्कारका साथ सम्मान गरिएको हो । विदुर नपाले गत शैक्षिक सत्र २०८१ मा सर्वोत्कृष्ट तथा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कार वितरण गरेको हो ।

शैक्षिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यालय र विद्यार्थीहरूको योगदानलाई सम्मान गरि उनीहरूको मनोबल अभिवृद्धि गर्नु तथा अन्य विद्यार्थीहरूलाई समेत उत्कृष्टता हासिल गर्न प्रेरित गरेको उपमेयर प्रभा वोगटीको भनाई छ । यसले शिक्षाको गुणस्तर सुधार, प्रतिस्पर्धात्मक भावना विकास तथा शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने लक्ष्यले यस कार्यक्रमलाई विशेष महत्व प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेलको भनाई छ ।

कार्यक्रमले शैक्षिक उपलब्धिलाई सामाजिक मान्यता प्रदान गर्दै समग्र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको विदुर नपाले जनाएको छ । यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, मेहनत र लगनशीलताको भावना विकास गर्न सहयोग पु¥याउने तथा विद्यालयहरूलाई गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।






















