बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको गौजेनीमा स्काभेटरले बाटो खन्ने क्रममा माथिवाट खसेको पहिरोमा परि चालकसहित दुई जनाको ज्यान गएको छ । बाटो खनिरहेको समयमा वुधवार दिउंसो स्काईभेक्टरमा माथिबाट पहिरो खसेर पुरिदा त्यसका चालकसहित दुई जनाको ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ ।


सदरमुकाम बिदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउंपालिका ३ गौजेनीमा मैदानबाट लप्से जाने भित्री सडक खण्डमा स्काईभेक्टरले बाटो खन्ने क्रममा माथिबाट ठुलो ढुङ्गासहितको पहिरो खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार माथिवाट खसेको ढुङ्गासहितको पहिरोमा पुरिदा स्थानीय शिवपुरी गापा ३ का ३५ वर्षिय फुलमान तामाङ र स्काईभेक्टर चालक ललीतपुरको २४ वर्षिय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक फुलमान भने वाटो निर्माण उपभोक्ता समितिका व्यक्ति रहेको जनाइएको छ । दुवै मृतकको शव पहिरोले पुरिएको अवस्थामा रहेकोले उक्त स्थानमा स्थानयिवासी, नेपाल प्रहरी टोली, सशस्त्र, सेनासहितको टोली उद्धार कार्यमा खटिएको डिएसपि लामाको भनाई छ ।








