बिदुरः स्वरोजगार र आयआर्जनमा जोड दिदै नुवाकोटको बेलकोटगढी नगरपालिकामा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । महादेवफांटमा सन्चालित तालिममा युवपा समुदायको उल्लेख्य सहभागिता रहेको छ । बेलकोटगढी नगरपालिका र बाग्मती प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा निःशुल्क रुपमा उक्त प्रशिक्षण (कफि बारिष्टा सीप तालिमको) सुरुवात भएको हो ।


कुल तीनसय ९० घण्टा अर्थात ६५ दिन सम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रमको बेलकोटगढी ७ महादेवफांटमा सञ्चालन गरिएकोे छ । बेलकोटगढी नपाले ‘युवा लक्ष्यित कार्यक्रम’लाई महत्व दिँदै सिपमूलक उक्त तालिम सञ्चालन गरेको छ । तालिमको मेयर जगतबहादुर गुरुङले उद्घाटन गर्दै युवालाई सिप सिकाई स्वरोजगार, आत्मनिर्भर र उद्यमी बनाउने लक्ष्यका साथ यससंगै विभिन्न कार्यक्रम सञ्चालन गरिएको वताए ।

उनले युवालाई स्थानीयस्तरमै सिप सिकाएर र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले सिपमूलक तालिमलाई प्राथमिकता दिदै बारिष्ता तालिममार्फत नपाका युवाहरुले सिप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेयर गुरुङले युवालाई सिप सिकाएर आत्मनिर्भर बनाउने नपाकोे मुख्य लक्ष्य रहेको वताउंदै स्थानीय तहले युवाको क्षमता विकास गर्ने र उनीहरूलाई आफ्नै ठाउँमा रोजगारी तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेकोमा जोड दिए ।
सोही कार्यक्रममा उपमेयर शिवप्रसाद दाहालले युवालाई सिप सिकेर स्वावलम्भी हुन आग्रह गरे । उनले व्यवहारिक सिप प्रदान गर्ने उद्देश्यले बारिष्ता तालिमसँगै बेकरी आइटम तथा नेपाली खानाका विभिन्न परिकार बनाउन सिकाउने तालिम पनि छिट्टै सञ्चालन गर्न लागिएको पनि वताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले युवाहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर स्थानीय सरकारले योजना निर्माण गरिरहेको वताए । युवासँग सल्लाह र परामर्श गर्दै उनीहरूको भावना र आवश्यकताअनुसार कार्यक्रम तथा योजना तय गर्ने प्रयास भइरहेको उनको भनाई छ । बेलकोटगढी नपाकी कार्यपालिका सदस्य गमला लामाले सिप सिके लगत्तै रोजगारीमा जोडिन तथा आफैले व्यवसाय सुरु गर्न सक्ने बनाउन यस तालिम प्रदान गरिएको वताइन् ।

यस तालिमबाट युवाले व्यवसायिक सीप हासिल गरी स्वरोजगारतर्फ अघि बढ्न सक्ने विश्वास गरिएको नपाले छ । बेलकोटगढी–७ महादेवफाँटमा सन्चालित तालिम युवालाई शिक्षासँगै व्यवहारिक सिप प्रदान गरी उद्यमशीलतामा जोड दिने उद्देश्यले पहिलो चरणमा २५ जना युवाहरुको सहभागिता रहेको छ । युवालाई व्यवहारिक र उपयोगी प्रयोगात्मक सिप प्रदान गर्ने लक्ष्यसहित युवाले सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जनका लागि युवालाई सिप र उद्यमसंग जोड्ने कार्य सुरु गरिएको बेलकोटगढी नपाको भनाई छ ।






