बिदुरः झण्डै चार दशकदेखि नुवाकोट–रसुवामा यातायात सेवा सञ्चालन गर्दै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिकोविशेष अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले त्रिशूलीवजारका कुलबहादुर खड्गी अध्यक्ष चुनिएका छन् । अधिवेशनले आगामी कार्यकालका लागि खड्गीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिका सदस्यहरूमा धनबहादुर श्रेष्ठ, आशिष श्रेष्ठ, श्रीकृष्ण आचार्य, मंगलबहादुर लामा, ईश्वरीलाल श्रेष्ठ, होमबहादुर कुमाल, रविन वैद्य, लोकराज न्यौपाने, रवि रिमाल र निरकुमार मोक्तान रहेका छन् । चयन भएको कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइएको छ । अध्यक्ष खड्गीले आफ्नो नेतृत्वमा नमस्ते पासाङल्हामु यातायातलाई अझ व्यवस्थित,गुणस्तरिय, सुरक्षित र सेवामुखी बनाउने प्रतिबद्धता जनाएका छन् ।

यसअघिका अध्यक्ष रामहरि श्रेष्ठको नेतृत्वमा रहेको पुरानो समिति विघटन गर्दै खड्गीको नेतृत्वमा नयाँ समिति गठन भएको हो । नुवाकोट–रसुवामा लामो समयदेखि यात्रु सेवा सञ्चालन गर्दै आएको उक्त कम्पनीसँग हाल तीन सय थान वस रहेको र त्यसका धनी आबद्ध रहेका छन् । नमस्ते पासाङ ल्हामु यातायातसँगै नुवाकोट रसुवामा टिमुरे यातायात प्रालि, त्रिशूली यातायात र नेपाल माइक्रोवस कम्पनीका सवारी साधन सञ्चालनमा रहेका छन् ।
यी चार कम्पनीमार्फत काठमाडौंबाट नुवाकोट र रसुवातर्फ ५ सय थान सवारी साधन सञ्चालन हुँदै आएका छन् । पछिल्लो समय नुवाकोटमा सडक दुर्घटनामा वृद्धि भएको छ भने दुर्घटना घटाउन ट्राफिक सचेतनामा वेद्धि गरिनुका साथै ढिकुरे–छहरे–टोखा सडकमार्गमा टाइम कार्ड प्रणाली लागू गरेको छ । पछिल्लो समय विद्युतीय सवारी (ईभी) सञ्चालन भएका छन् ।






