बिदुरः आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिदै जांदा नुवाकोटमा दल वदल्नेहरुको संख्या वढ्दै गएको छ । मतदाताको घरदैलोसंगै एमालेले पार्टी प्रवेश अभियानलाई तिव्रता दिइएको जनाएको छ । नुवाकोटमा विभिन्न दल त्याग गरी एमाले प्रवेश गर्ने क्रम जारी रहेको एमाले नुवाकोटले जनाएको छ ।


जसअन्र्तगत आइतवार नेबिंसंघ नुवाकोटका निबर्तमान जिल्ला सभापति राजु अधिकारीलगायतका विद्यार्थि तथा युवाहरु एमालेमा प्रवेश गरेको जिल्ला सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । अधिकारीसंगै अर्का विद्यार्थी नेता लबराज अधिकारी, पञ्चकन्या गाउंपालिका –५ का नेपाली कम्युनिष्ट पार्टी कमिटीका पूर्व सह–सचिव बाबुलाल मिजार गुठु नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई नुवाकोट १ का नेकपा एमाले का उम्मेदवार तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले स्वागत गरेका हुन् ।

सुर्यगढी गाउंपालिकाका युवा विद्यार्थी राजु अधिकारी नेविसंघ नुवाकोटका पूर्व सभापतिका साथै नेपाली कांग्रेस सूर्यगढी गाउँपालिकाका सह–सचिवसमेत हुन् । प्रवेश कार्यक्रममा एमाले उम्मेदवार मैनालीले समृद्ध नुवाकोट निर्माणका लागि अधिकारीसहित सबैको साथ र समर्थन आवश्यक रहेको बताए । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यसैवीच, नेपाली कम्युनिष्ट पार्टीका वाइसीएल नेपाल नुवाकोट जिल्ला अध्यक्षका प्रत्यासी दिनेश अधिकारीलगायतको टोली आइतवारै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीसंगै नेपाली कम्युनिष्ट पार्टीका क्षेत्र, पालिका तथा सम्पर्कको जिम्मेवारीमा रहेका सयौं युवाहरू र नेपाली कांग्रेसका युवा नेता नेकपा (एमाले) मा समाहित भएको एमाले सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । उनीहरूले पछिल्लो समय एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आकर्षित भई युवा उम्मेदवार बद्री मैनालीको कार्य योजना सम्बन्धि स्पष्ट योजना, लक्ष्य र मिलनसार कार्यशैली मन पराएर पार्टी प्रवेश गरेको बताएका छन् ।

उनीहरूलाइ पार्टीमा स्वागत गर्दै एमालेका नुवाकोट १ का उम्मेदवार बद्री मैनालीले देश विकास, स्थिरता र समृद्धिका लागि एमाले नै सक्षम शक्ति भएको भन्दै नयाँ प्रवेशीहरूलाई सक्रिय भूमिका खेल्न अनुरोध गरे । नव प्रवेसी विद्यार्थी तथा युवाहहरूले देश र जनताको हितका लागि एमालेको नीति तथा नेतृत्वप्रति विश्वास राख्दै एमालेमा आवद्ध भएको बताएका छन् । निर्वाचन नजिकिँदै जाँदा विशेष गरि नुवाकोट १ मा दल परिवर्तनको क्रम बढेको छ ।

केही दिन अगाडि दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका तत्कालीन माओवादीबाट निर्वाचित वडाध्यक्ष सीताराम तामाङलगायतलाई एमालेमा प्रवेश गरेका थिए । बिभिन्न दल छाडेर विद्यार्थी तथा युवाहरू एमालेमा प्रवेश गरेपछि नुवाकोटमा एमाले उत्साहित भएको जिल्ला उपसचिव राजेन्द्रप्रकाश पाण्डेको भनाई छ । पार्टी प्रवेशसँगै प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री मैनाली उत्साहित देखिएका छन् ।
मैनालीले आफ्नो पक्षमा युवा जमात सक्रिय भइरहेकोे दाबी गरे । मैनाली २०७९ को निर्वाचनमा तत्कालीन कांग्रेस मोओवादी गठवन्धनका हितवहादुर तामाङसंग निकटतम प्रतिस्पर्धी भएका थिए ।





