बिदुरः विद्यालयस्तरवाटै खेलकुदको विकास र विस्तारका साथै प्रवद्र्धन गर्ने उद्धेश्यले नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालित पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ ।


शिवपुरी गापा–७ स्थित शिवपुरी रङ्गशालामा तीन दिनसम्म सन्चालन भएको प्रतियोगितामा शिवपुरी गापाभित्रका विद्यालयका खेलाडिहरुबीच विभिन्न खेलकदु प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतिस्पर्धामा कुम्भेश्वर माविले सर्वाधिक स्वर्ण पदक जित्दै प्रतियोगिताको उपाधि जितेको छ ।
उपाधि उचालेको कुम्भेश्वर माविले कुल ७ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको हो । उक्त प्रतियोगितामा जानकी माविले ५ स्वर्ण पदक जितेर उपविजेता भएको छ ।
महेन्द्र माविले ४ स्वर्ण, ४ रजत र ६ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थी खेलाडिहरुले आआफ्नो खेल कौशल प्रदर्शन गरेका हुन् ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई शिवपुरी गापाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार प्रदान गरे । अध्यक्ष थपलियाले खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि शिवपुरी गापाले विशेष कार्यक्रम सन्चालन गरेको वताए ।

उनले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा योगदान पुग्ने वताए । समापन तथा पुरस्कार वितरण कार्यक्रममा शिवपुरीका उपाध्यक्ष वीरबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, शिक्षा अधिकृत पुष्करराज बिष्ट, शिक्षा शाखाका धु्रव न्यौपाने, शिवपुरी ७ का वडाध्यक्ष वीरबहादुर तामाङलगायत जनप्रतिनिधि, विद्यालयका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

विद्यार्थी, खेलाडिहरूको खेलकुदको विकास, क्षमता प्रदर्शन, पहिचानका लागि उक्त प्रतियोगिता गरिएको शिवपुरी गापाले जनाएको छ । खेलाडिको प्रतिभा पहिचान गर्ने र स्थानीयस्तरमा खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यले शिवपुरी गापाले प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।






