बिदुरः तारकेश्वर गाउँपालिकाले किसानहरुलाई ट्याक्टर मर्मत तालिम प्रदान गरेको छ । गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत किसानहरुका लागि सञ्चालित मिनिटिलर (ट्याक्टर) मर्मत तालिम सम्पन्न भएको हो ।


किसानलाई यान्त्रिकरण तथा आधुनिकीकरणतर्फ जोडिनको लागी आब्हानसहित अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकाले किसानले सञ्चालन गर्ने प्रविधि चलाउन र मर्मतसम्भारका लाग दक्ष हुन दिइएको तालिमलाई सही रुपमा प्रयोगमा ल्याउन किसानलाई आग्रह गरिएको छ । सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी (अविरल)ले तालिमको समापन गरे ।

हाते ट्रयाक्टर मर्मत तालिमसँगै गाउँपालिकाले सहभागी किसानहरूलाई मर्मतका लागि आवश्यक औजार, पार्टपुर्जा लगायत सामग्रीहरू समेत उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको बजेटमा सीमित रकम मात्र उपलब्ध रहेकाले उनले आगामी वर्षको बजेटका पर्याप्त रकम विनियोजन गरी अझ उन्नत र विस्तृत ढङ्गले कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले कृषिको आधुनिकीकरणका लागि आधुनिक प्रविधिको प्रयोग अनिवार्य भएकाले सोही प्राविधिको सञ्चालन र मर्मतसम्भारका लागी किसानलाई दक्ष बनाउनु आवश्यक रहेको बताए । हाते ट्रयाक्टर लगायतका कृषि यन्त्रको प्रयोग अहिलेको कृषि प्रविधिका लागि महत्वपूर्ण रहेकाले यसको उपयोग गर्दै लाभ लिनको लागी किसानर्लाइ प्रविधि र यन्त्रउपकरणको प्रयोगमा जोड दिन अध्यक्ष अधिकारीले आग्रह गरे ।

“देशकै अर्थतन्त्र कृषिमा आधारित रहेको र तारकेश्वर गापाको अर्थतन्त्रको आधार पनि कृषि नै भएकाले कृषकहरुको सहजता स्थानीय सरकारको पहिलो प्राथमिकतामा रहेको छ ।” उनले अगाडि भने “शिक्षामा पनि व्यावहारिक र सीपयुक्त शिक्षाको अवधारणालाई अघि बढाइएको छ, कृषक, महिला तथा युवाहरूको स्वावलम्बन र जीविकोपार्जनका लागि सीपयुक्त तालिम लगायतका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकताका दिदै आएको छ ।”

पछिल्ला वर्षहरुमा खेतवारी जोत्नका लागि गोरु पाल्ने चलन हराउँदै गएको र ट्रयाक्टरको प्रयोग सहज र समय सान्दर्भिक भइरहेको अवस्थामा ट्याक्टरको प्रयोग मात्र नभई मर्मत सम्भारमा समेत कृषक आफैँ सक्षम बन्नु सानो विषय भएपनि कृषकहरूको आयआर्जन र आत्मनिर्भरताका लागि भने यसलाई ठुलो उपलब्धिको रुपमा लिनुपर्ने अध्यक्ष अधिकारीको भनाई छ । अगुवा कृषकहरु उक्त प्रशिक्षणमा सहभागी रहेका थिए ।












