बिदुरः नुवाकोटको शिवपुरी गाउंपालिकाले धान बालीमा क्षति भएका किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । किसानहरुलाई दुई प्रकारको क्षतिपुर्ति दिने निर्णय गरिएको गापा कार्यालय शेरावगरले जनाएको छ ।


गत कार्तिकमा लगातार परेको झरीका कारण शिवपुरी गापामा चारसय २द्द जना किसानहरुले आफ्नो खेतको धान नष्ट भएको जनाउंदै क्षतिपुर्ति माग गर्दै निवेदन दिएका थिए । चारदेखि ५० रोपनीसम्म एकै व्यक्तिको धान नष्ट भएको निवेदन परेको शिवपुरी गापा अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षातका कारण किसानहरूको खेतमा काटिएको र काट्न वांकी धान बालीमा क्षति पुगेपछि किसानको समस्यालाई मध्यनजर गर्दै शिवपुरी गापाले आन्तरिक श्रोतवाट क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । धानमा क्षति भएका प्रति किसान परिवार एकमुष्ट तीन हजार र प्रति रोपनी दुई सय रुपैया थप क्षतिपुर्ति दिने निर्णय गरिएको अध्यक्ष थपलियाले वताए ।

शिवपुरी गापाको लगातार तीन चरणको कार्यपालिका वैठकले उक्त निर्णय गरेको हो । यस निर्णयसंगै धान नष्ट भई प्रभावित किसानहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

तारकेश्वरमा धानबाली क्षतिपूर्ति कोष स्थापनाः
गत कार्तिक महिनामा परेको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानहरुलाई सहयोग गर्न तारकेश्वर गाउँपालिकाले धानबाली क्षतिपूर्ति कोष स्थापना गरेको छ । गापाले किसानलाई राहत दिन ५० लाख रुपैयाँको कोष स्थापना गरेको हो ।

तारकेश्वर गाउँ कार्यपालिकाको बैठकले गापा अध्यक्ष शिव अधिकारी (अविरल)को विशेष प्रस्तावमा उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । कोषले आवस्यक कार्य सुरुसमेत गरिसकेको छ ।

कोषमा तत्काल १० लाख रुपैयाँ जम्मा गरिने र अन्य शिर्षकबाट बजेट खोजेर बाँकी ४० लाख थप गरेर ५० लाख पु¥याइने अध्यक्ष अधिकारीको भनाई छ । उनका अनुसार गत कार्तिक महिनामा पाँच दिनसम्म लगातार परेको झरीका कारण काटिसकेको र काट्न तयार धानसमेत खेतमै क्षति भएको थियो ।

वर्षा रोकिएको भोलिपल्ट अध्यक्ष अधिकारीको निर्देशनमा गाउँपालिकाका कृषि प्राविधिक टोलीले सबै वडाका धानखेती क्षेत्रको स्थलगत अवलोकन गरी क्षतिको विवरण संकलन गरेका थिए । संकलित क्षतिको विवरणका आधारमा प्रभावित किसानलाई यथोचित क्षतिपूर्ति उपलब्ध गराउन लागिएको हो ।

“किसानको श्रम, पसिना र आशा धानबालीसँग जोडिएको हुन्छ, अविरल वर्षाका कारण काटिसकेको धानसमेत नष्ट हुँदा किसान ठूलो मारमा परेका थिए, स्थानीय सरकारको हैसियतले यस्तो संकटको घडीमा किसानलाई एक्लै छोड्न सकिँदैन भन्ने मान्यताका साथ यो क्षतिपूर्ति कोष स्थापना गरिएको हो” अध्यक्ष अधिकारीले वताए । उनका अनुसार संकलित तथ्यांकका आधारमा वास्तविक पीडित किसानलाई प्राथमिकतामा राखेर पारदर्शी र न्यायोचित ढंगले क्षतिपूर्ति वितरण गरिनेछ ।

अधिकारीले भने“अहिले कायम गरिएको कोष तत्कालको राहतका लागि मात्रै होइन, भविष्यमा सम्भावित प्राकृतिक विपद्बाट कृषकलाई जोगाउने दीर्घकालीन सोचका साथ अघि बढाइएको पहल भएको हो । “आगामी दिनमा कृषि बिमा, पूर्वतयारी र जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिनेछ” अध्यक्ष अधिकारीको भनाई छ ।











