बिदुरः विद्यार्थी दुर्घटना बीमा कार्यक्रम सन्चालन गरेको नुवाकोटको विदुर नगरपालिकाले विमा रकम भुक्रानी गरेको छ । कार्यक्रम अन्र्तगत विद्यार्थी दुर्घटना बीमा दाबी रकम भुक्तानी गरिएको छ ।


विदुर नपाले नौ जना विद्यार्थीको दुर्घटना दावी रकम भुक्तानी गरेको हो । कार्यक्रमकावीच विदुर नपाका मेयर राजन श्रेष्ठले विद्यार्थी दुर्घटना विमा दावी रकम भुक्तानी गरे । विदुर नपाको कार्यालयबाट सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक प्रतिनिधिहरूलाई सम्बन्धित बीमा कम्पनीबाट प्राप्त दाबी भुक्तानी रकम मेयर श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम अन्र्तगत विदुर नपाका नौजना बिमित विद्यार्थीले दुर्घटना बीमाबापतको दाबी भुक्तानी प्राप्त गरेका छन् । मेयर श्रेष्ठले विद्यार्थीको दुर्घटना सुरक्षालाई प्राथमिकतामा राख्दै विदुर नपाले जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको बताए । उनले विद्यार्थी दुर्घटना बीमा कार्यक्रमले अभिभावक, विद्यालय र विद्यार्थीहरूलाई थप सुरक्षा र भरोसा प्रदान गरेकोसमेत उल्लेख गरे ।
विदुर नपाले आगामी दिनमा पनि विद्यार्थीमैत्री तथा सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको मेयर श्रेष्ठले बताए । विदुर नपामार्फत गरिएको विद्यार्थी दुर्घटना बीमा कार्यक्रम अन्र्तगत विदुर नगरका ५४ विद्यालयका आठहजार तीनसय ३१ जना विद्यार्थीलाई समेटिएको छ ।

हालसम्म ९ जना बिमितले दाबी भुक्तानी प्राप्त गरेका छन् । जसमध्ये क्षेत्रपाल आधारभुत विद्यालय, सहिद भरत दुगाना स्मृति आवि, चन्द्रज्योति मावि, सहिद जगतप्रकाश जंगशाह संस्कृत मावि, युनाइटेड आवि र त्रिभुवन त्रिशूली माविले विद्यार्थी दुर्घटना विमा वापतको रकम भुक्तानी लिइसकेको छ । बीमा दाबी भुक्तानी विवरणअनुसार विभिन्न विद्यालयका विद्यार्थीले नेको इन्सुरेन्स लिमिटेड, शिखर इन्सुरेन्स लिमिटेड तथा हिमालन एभरेष्ट एस्योरन्स लिमिटेडमार्फत बीमा रकम प्राप्त गरेको विदुर नपाले जनाएको छ ।





