बिदुरः रेबिज रोग सम्बन्धि सचेतना, नियन्त्रणका उपाय तथा वर्तमामन अबस्थाको सम्बन्धमा नुवाकोटको विदुरमा सचेतना प्रदान गरिएको छ । सरोकारवाला निकाय क्रियाशील हुनुपर्नेमा जोड दिइएको छ ।

नुवाकोटको विदुर नपामा सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) र रेबिज रोगसम्बन्धि निगरानी सुदृढीकरण तथा जनचेतना कार्यक्रममा उक्त निष्कर्श निकालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजनामा तथा विदुर नपनको स्वास्थ्य शाखाको सहजिकरणमा सापु र रेबिज रोग सम्बन्धि सचेतना, नियन्त्रणका उपाय एंव वर्तमान अबस्थाको सम्बन्धमा सरोकारवालाहरुबीच अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा नेत्ररोग विशेषज्ञ डा. रन्जु खरेलसिटौलाले सापु रोग लाग्ने कारण, यसको लक्षण तथा यसबाट सुरक्षित रहने उपायका बारेमा जानकारी दिइन् । यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक वनविज्ञ प्रवीण पौडेलले सापु रोगसँग सम्बन्धित सेतो पुतलीको बारेमा सहभागीहरूलाई जानकारी गराए ।
कार्यक्रममा रेबिज रोगको जोखिम, संक्रमणको माध्यम र रोकथामका सम्बन्धमा स्वास्थ्य सेवा विभागका जुनोटिक रोग नियन्त्रण अधिकृत बिहारी महतोले जानकारी गराए । कार्यक्रममा विदुर नपाको योजना अधिकृत हरिप्रसाद प्याकुरेल, जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी, स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी–कर्मचारीहरू, विदुर नपा अन्र्तगतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु विद्यालय नर्स, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो ।






