बिदुरः आंखाको स्याहार तथा सुरक्षामा जोड दिदै नुवाकोटको त्रिशूलीमा विद्यार्थीहरुको आंखा परिक्षण गरिएको छ । विदुर नपा १ स्थित त्रिभुवन त्रिशूली माविमा निःशुल्क विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा विद्यालयमा अध्ययनरत आठ सय ७८ जना विद्यार्थीहरूको दृष्टि तथा आँखा परीक्षण गरिएको छ । कार्यक्रममा परिक्षण गरिएका विद्यार्थीहरूमध्ये एक सय १४ जनामा दृष्टिदोष देखिएको नेपाल आँखा अस्पताल काठमाडौँका राम केसीले जानकारी दिए ।

उक्त कार्यक्रम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोग तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहकार्यमा भएको हो । सो कार्यक्रमले विद्यालयस्तरमै आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै समयमै दृष्टि समस्या पहिचान गरी उपचारमा सहयोग पु¥याउने विश्वास विद्यालयको रहेको छ ।

दृष्टिदोष भएका सम्पूर्ण विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको छ । विद्यार्थीहरूको आँखाको स्वास्थ्य सुरक्षा अत्यन्तै आवश्यक रहेको र निःशुल्क चस्मा पाएपछि विद्यार्थीहरूले राम्रोसँग पढ्न थालेको विद्यालयले जनाएको छ ।

यसवाट विद्यार्थीहरूको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्नुका साथै विद्यार्थीहरूको स्वास्थ्य सुधारसँगै उनीहरूको अध्ययन क्षमतामा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ ।





