बिदुरः आंखाका विरामीहरुको सुविधाका लागि नुवाकोटको बिदुरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आंखाको ज्योति फर्किदा शल्यक्रिया गरेकाहरु निकै खुसी भएका छन् ।नुवाकोट सामुदायिक आंखा केन्द्र, तिलगंगा आंखा प्रतिष्ठान, नुवाकोट रेडक्रसको संयुक्त आयोजनामा विदुरमा दुई दिने मोतियान्दिु शल्यक्रिया शिविर गरिएको हो । शिविरमा आंखाका विरामीहरुले सेवा लिएका थिए ।


शिविरमा तिलगंगा आंखा प्रतिष्ठानका डा. किपा वैधसहित तीन जना चिकित्सकसहित १२ जनाको स्वास्थ्य टोलीले विरामीहरुको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो । शिविरमा एकसय ३३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नुवाकोट सामुदायिक आंखा केन्द्रका प्रमुख तारावहादुर वाइवाले जानकारी दिए ।

उनका अनुसार नुवाकोटको शिवपुरीको दुई स्थान र तादी गाउंपालिकाको एक स्थानमा आंखाको परिक्षण गरि मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने विरामीहरुको पहिचान गरिएको थियो । यसअघि, तीन स्थानमा दुईसय २२ जनाको आंखाको परिक्षण गरिएको थियो ।

स्थानीयस्तरमै आंखाको विरामीहरुले परिक्षण र मोतियाविन्दुको शल्यक्रिया गर्न पाउंदा विरामीहरु निकै खुसी भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले वताए । उनका अनुसार आंखाका विरामीहरुको काठमाडौसम्म जानु पर्ने र महंगो अस्पतालमा रकम खर्चेर आंखाको उपचार गर्नु पर्ने वाध्यताको अन्त्य भएको छ ।

चलु आर्थिक वर्षको साउनदेखि हालसम्म नुवाकोटको विदुरमा दुई सय ८३ जनाको आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिसकिएको नुवाकोट सामुदायिक आंखा केन्द्रले जनाएको छ । आंखाको स्याहार र सरसफाइमा ध्यान दिन आम सर्वसाधारणलाई आग्रह गरिएको आंखा प्राविधिकहरु वताउंछन् ।











