बिदुरः सामुदायिक सचेतनाको उद्धेश्यसहित नुवाकोटको ककनीमा सडक नाटक मन्चन गरिएको छ । लैङ्गिक हिंसा नियन्त्रणको अभियानलाई सार्थक वनाउने क्रममा नुवाकोटको पुर्वी भेगमा रहेको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ ।


उक्त नाटक महेन्द्र मावि चतुराले र भवानी मावि रानीपौवा ककनीमा प्रदर्शन गरिएको हो । लैङ्गिक हिंसाका बहुआयामिक स्वरूपबारे विद्यार्थी र स्थानीय समुदायलाई सचेत गराउनु सडक नाटक प्रदर्शनको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

ककनी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहकार्य र आदि इत्यादि समूहको प्रस्तुतिमा प्रदर्शन गरिएको झण्डै ५० मिनेट लामो उक्त सडक नाटकले समाजमा जरा गाडेका लैङ्गिक हिंसाका विभिन्न रूपलाई सशक्त र मार्मिक कलात्मक शैलीमा उजागर गरेको छ ।

सडक नाटकमा विशेष गरी घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, मानसिक यातना र डिजिटल युगमा बढ्दै गएको साइबर बुलिङ जस्ता संवेदनशील विषयवस्तुलाई समेटिएको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकमा कलाकारहरू सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, निस्सोम मगर, अञ्जना दुलाल, अञ्जु खड्का र सन्ध्या नेपाललगायतले अभिनय गरेका छन् ।













