बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको सुपारीखोल्चीमा पक्कि मोटरेबल पुल निर्माण गरिएको छ । हजारौं सर्वसाधारणलाई आवतजावतमा सुविधा पुगेको छ । बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुलको निर्माण कार्य सकिएसंगै उद्घाटन गरिएको हो ।


नवनिर्मित उक्त पुलको शनिवार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे । पुलको उद्घाटन गदैै मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो देशमा जनताको भावनालाई सम्वोधन गरेर अगाडि वढ्नु मुल उद्धेश्य रहेको वताए । उनले जेनजी पुस्ताको आन्दोलनले पनि लोतान्त्रिक पद्धतीलाई संस्थागत गर्ने जनताको भावनालाई सम्वोधन गर्नुपर्ने उल्लेख गरेको वताए ।

मुख्यमन्त्रि बानियाँले जनताका लागि यो वा त्यो दल नभई देशमा स्थायी शान्ति, सम्वृद्धि र विकासका लागि सवै एकजुट हुनुपर्ने समय आएको वताए । उनले अगाडि भने–“म मकवानपुरको भएपनि धार्मिक, पर्यटकिय तथा ऐतिहासिक नुवाकोटको विकासमा मकवानपुरको भन्दाबढी हेर्नेछु ।” मुख्यमन्त्री बानियाले नुवाकोटको विकासलाई आफ्नो विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्र्दै क्षेत्रीय सन्तुलन, अवसरको पहुँच र पूर्वाधार विकासमा नुवाकोटलाई अग्रपंक्तिमा ल्याइने वताए ।

उनले वागमति प्रदेश सरकारको लगानीमा बन्ने परियोजनाहरूमा नुवाकोटलाई केन्द्रविन्दु बनाइने प्रतिवद्धता जनाए । कुल ४१ मिटर लम्वाई र आठ दशमलव चार मिटर चौडाइको उक्त पुल बागमती प्रदेश सरकारको कुल आठकरोड ७८ लाख रुपैयाको लगानीमा निर्माण सम्पन्न भएको हो । गत २०८१ साल असार १४ गते निर्माण सम्झौता भई जयविष्णु निर्माण सेवा प्रालीले २०८२ साल असोज १३ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा समयाभन्दा २ महिना अघि नै पुल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

उक्त पुल सम्झौता अगाडि नै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुलको निर्माण कार्य तोकेको समय अगावै सम्पन्न गर्ने जयविष्णु निर्माण सेवा प्रालीलाई सम्मान गरिएको हो । पुल २०८१ साल असार १४ गते भएको सम्झौता अनुसार २०८२ साल असोज १३ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा दुई महिना अघिनै निर्माण कार्य पुरा गरिएकोमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जयविष्णु निर्माण सेवा प्रालीका सन्चालक अनीलकुमार सिलवाललाई दोसल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

सोही अवसरमा सफल निर्माण व्यवसायीको रूपमा सिलवाललाई लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र बेलकोटगढी नपा १३ का वडाध्यक्ष नमराज पाण्डेले पनि प्रशंसापत्रसहित सम्मानित गरे । पुल निर्माणपछि स्थानीय यातायात आवागमनमा सहजता, कृषि उत्पादनको बजार पहुँच र सामुदायिक सेवा प्रवाहमा सुधार आएको स्थानीयवासीको भनाई छ ।

पुल उद्घाटन कार्यक्रममा वागमति प्रदेश सभा सदस्य रमेशकुमार महत, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठ, कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, नेकपा नुवाकोटका नवीन पुडासैनी, पुर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापालगायतले पुलको दीर्घकालीन महत्व र प्रभावकारिताको सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।




















