बिदुरः कांग्रेस नुवाकोटले क्षेत्रिय समितिले निर्वाचनको उम्मेदवारमा गरिएको सिफारिसलाई अनुमोदन गरेको छ । नेपाली काँग्रेस नुवाकोटले आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचनको लागी क्षेत्रीय समितिले पठाएका उम्मेदवारहरुको सिफारिसलाई अनुमोदन गर्दै केन्द्रमा पठाउने निर्णय गरेको छ । कांग्रेस नुवाकोटका सभापति तथा वागमति प्रदेश सभा सदस्य रमेशकुमार महतको सभापत्विमा सम्पन्न जिल्ला समिति नुवाकोटको बिदुरमा सम्पन्न बैठकले क्षेत्रबाट आएका सिफारिसलाई अनुमोदन गर्दै केन्द्रमा पठाउने निर्णय गरेको जिल्ला सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार उम्मेदवार सिफारिसका सम्वन्धमा क्षेत्रिय समितिलाई अधिकार रहेको र जिल्ला समितिले हस्तक्षेप नगरेको वताए । बैठकले क्षेत्रकै सिफारिस अनुसार क्षेत्र नं १ बाट एकल उम्मेदवारको रुपमा डा प्रकाशरण महत र क्षेत्र नं २ मा पहिलो नम्बरमा वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि तथा वागमति प्रदेश सभा सदस्य बहादुरसिंह लामातामाङलाई सिफारिस गरेको छ । क्षेत्रिय समितिले सिफारिस गरेर पठाएका सवै २५ वटै उम्मेदवारको नाम जिल्लाले अनुमोदन गरेको हो ।

सचिव श्रेष्ठका अनुसार क्षेत्र नं १ मा आगामी प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्षतर्फ एकमात्र उम्मेदवारको नाम डा. महतलाई सिफारिस गरेको हो । महत कांग्रेसको केन्द्रीय प्रवक्ता समेत हुन्। क्षेत्रीय कार्यसमितिको बिहीबारको बैठकले एकल उम्मेदवारको रुपमा उनको नाममात्र सिफारिस गरेसगैँ जिल्ला कार्यसमितिले पनि सोही सिफारिसलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नुवाकोटले क्षेत्र नं. १ को प्रतिनिधिसभाको समानुपातिकतर्फ महेन्द्र थिङ, कबिराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य र कल्पना नेपालीको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभाको उम्मेदवारको लागी रामकृष्ण थापा र भाग्यश्री लामालाई सिफारिस गरिएको हो । यस्तै, नुवाकोटको क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागी प्रत्यक्षतर्फ पहिलो नम्बरमा बहादुरसिंह लामातामाङको नाम सिफारिस भएको छ ।

प्रस्ताव गरिएको अन्य नामावलीमा जगदीश्वरनरसिंङ केसी, ध्रुवप्रसाद अधिकारी, चोकराज शाक्य, श्रीप्रसाद सापकोटा, बिन्दा आर्याल र नवराज पाण्डेको नाम केन्द्रीय समितिमा सिफारिस गरिएको छ । यस्तै प्रतिनिधि सभा निर्वाचनको समानुपातिक उम्मेदवारतर्फ पहिलो नम्बरमा अर्जुननरसिंह केसीको नाम सिफारिस गरिएको छ ।
यस्तै, अन्य उम्मेदवारहरुमा जगतबहादुर तामाङ, रुक्मिणी सेढाई र गीता आमात्यलाई सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यको लागी नुवाकोट २ वाट श्रीराम श्रेष्ठ, राजु थापा र राज्यलक्ष्मी पाण्डेश्रेष्ठको नाम सिफारिस गरिएको छ ।
बैठकले क्रियाशिल सदस्यता वितरणमा देखिएका त्रुटी तथा उजुरीको सम्बन्धमा छानबिन गर्नको लागी राजकुमार भट्टराईको संयोजकत्वमा एक समिति पनि गठन गरिएको सचिव श्रीराम श्रेष्ठले जानकारी दिए । यस्तै, गत भदौ २४ मा जेन्जी आन्दोलनको क्रममा अराजक गतिविधि सहित पाटी कार्यालयमा आगजनी गर्नेको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि हालसम्म कुनै कारबाही नभएको भन्दै पुनः कारबाहीको पक्रिया अघि बढाउनको लागी अनुरोध गर्ने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा क्षति पुगेको पाटी कार्यालय भवनको पुर्ननिर्माणको लागी क्रियाशिल सदस्यहरुसंग २० रुपैयाँको दरले सहयोग शुल्क संकलन गर्ने निर्णय गरेको छ । आन्दोलनका क्रममा नुवाकोटको बिदुरमा कांग्रेस र एमालेको जिल्ला कार्यालय तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीको घरमा आक्रमण, तोडफोड र आगजनी भएको थियो ।





