बिदुरः उद्यम विकासमा जोड दिदै नुवाकोटको विदुरमा नमूना उद्यमीहरु छनौट गरि सम्मानित गरिएको छ । ११ औं उद्योग दिवसको अवसरमा नुवाकोटका पुराना तथा सफल उद्यमीहरुलाई कार्यक्रमकावीच सम्मानित गरिएको हो ।


औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मुल नाराका साथ सन्चालित दिवसको अवसरमा पांच स्थानीय तहका ६ जना विभिन्न क्षेत्रका उद्यमीहरु सम्मानित भएका हुन् । उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले उद्योग दिवसका अवसरमा कृषि, हस्तकला, ट्राउट माछा, पोल्ट्री र सिलाइकटाइतर्फका दुई महिलासहित ६ जना उद्यमीहरुलाई प्रोत्साहनस्वरुप सम्मानित गरेको हो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत साना तथा मझौला उद्योगहरुलाई थप प्रोत्साहनसहित ति उद्योगीहरुलाई सम्मान गरिएको कार्यालय प्रमुख सीताराम घिमिरेले जानकारी दिए । उनका अनुसार हस्तकला, माछापालन, सिलाई प्रशिक्षण, कृषि, पोल्ट्रीलगायतका उद्योगहरु फष्टाउने क्रममा रहका छन् ।

विदुर नगरपालिका भित्रका तीनजना उद्यमीहरु सम्मानित भएका छन् । दुप्चेश्वर, लिखु गापा र बेलकोटगढी नपाक एक/एक जना उद्यमीहरु सम्मानित भएका हुन् ।

यसरी सम्मानित हुनेमा विदुर नपा–९ स्थित आशापुञ्ज कृषि केन्द्रका सन्चालक हरिबहादुर बस्नेत, विदुर नपा–४ वट्टारस्थित जालपादेवी हस्तकला उद्योगकी सन्चालक गीता ढकालथापा र शुभलक्ष्मी प्रशिक्षण केन्द्र वट्टारकी लक्ष्मीकुमारी प्रधान रहेका छन् । यसैगरी दुप्चेश्वर गापा–१ स्थित सुर्यकुण्ड ट्राउट माछाफर्मका सन्चालक नन्दलाल तामाङ, लिखु गापा–१ ढिकुरेस्थित हराभरा कृषि फर्मका सन्चालक ईबकुमार ढकाल र बेलकोटगढी नपा–५ स्थित लामिछाने पोल्ट्री फर्मका सन्चालक पुरुषोत्तम लामिछाने सम्मानित भएका छन् ।

उनीहरुलाई कार्यक्रमकावीच प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, कार्याैलय प्रमुख सीताराम घिमिरे, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, घरेलु तथा साना उद्योग महासंघ नुवाकोटका अध्यक्ष रामकृष्ण राजभण्डारीलगायतले दोसल्ला अेढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरे । प्रजिअ शशिधर घिमिरेले उद्यमीहरुले उतपादन गरेका सामग्रीहरुको वजारीकरणका लागि सरोकारवाला निकायले पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी अतिथीहरुले उद्यम संरक्षणमा जोड दिदै विदेशमा गएर श्रम बेच्नुभन्दा स्वदेशको माटोमै उत्पादन गर्न सहज भएको र विदेशमा गएर पैसा कमाउन सहज नभएको तर्क दिए । विभिन्न उद्यमीहरुले उद्योग दिवस दिवसमा मात्रै सिमित नभई उत्पादन र वजारीकरणमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।










