बिदुरः तीन साता अगाडिको अविरल झरीले नुवाकोटको अधिकांश धान बालीमा क्षति पुगेपछि किसानहरुलाई क्षतिपुर्ति तथा राहत दिने कार्य सुरु भएको छ । जसअन्र्तगत नुवाकोटको वेलकोटगढी नगरपालिकाले क्षतिपुर्ति तथा किसान राहत कोष स्थापना गरेको छ । नुवाकोटको सदरमुकामसंगै जोडिएको बेलकोटगढी नपाले गत कार्तिक १२ देखि १५ गतेसम्मको अविरल झरीले क्षति भएको किसानका धानबालीको राहत तथा क्षतिका लागि विशेष कार्यक्रम सन्चालन गरेको हो । किसानलाई राहत उपलब्ध गराउन सुरु गरेको छ ।


धानवालीमा क्षति पुगेका किसानहरुलाई बेलकोटगढी नपाका सवै जनप्रतिनिधिको एक महिनाको सम्पूर्ण सेवा सुबिधा बापतको रकम उपलव्ध गराएका छन् । साथै नपाका सम्पूर्ण कार्यरत कर्मचारी र सम्पूर्ण शिक्षकहरुको तर्फबाट एक दिनको तलब उपलब्ध गराउने निर्णय गरिएको छ । जनप्रतिनिधिको मात्रै कुल नौलाख ३७ हजार ५ सय रुपैया उपलव्ध गराइएको छ । बेलकोटगढी नपाको कार्यपालिकाको पुर्ण बैठकले गत अबिरल झरीको कारण क्षति पुगेको धान बालिको तत्काल राहत स्वरुप ८० लाख रुपैया बराबरको कोष स्थापना गरेको छ ।

कार्यपालिका बैठकले धान नष्ट भएका किसानहरुलाई राहत उपलब्ध गराउने निर्णय सर्वसम्मत रुपमा गरेको र राहत कोष स्थापना गरिएको मेयर जगतवहादुर गुरुङले जानकारी दिए । उनका अनुसार क्षतिपुर्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अन्न भण्डारको रुपमा रहेको बेलकोटगढी नपाका अनुसार १३ वडामा गरेर कुल एकहजार पांचसय ५७ जना कृषकहरुको सातहजार सातसय ४५ रोपनी खेतमा रहेको धान क्षति गरेको मेयर गुरुङको भनाई छ । गत सातासम्म धान खेतमा पुगेर स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र कृषि प्रबिधिकहरु धनमा भएको क्षतिको विवरण संकलन गरिको थियो ।

उक्त राहत कोषमा बेलकोटगढी नपा बिपद व्यवस्थापन कोषबाट बाँकी नपुग रकम उपलब्ध गराउने निर्णय गरिएको उपमेयर शिवप्रसाद दाहालको भनाई छ । राहतका लागि वडा कार्यलयमा सम्पर्क राख्ने अनुरोध गरिएको छ । बेलकोटगढी नपाले धानमा भएको क्षतिको तीन चरणमा वर्गिकरण गरि क्षतिपुर्ति दिने निर्णय गरेको छ । १ देखि ३ रोपनीमा धान नष्ट भएकाको प्रति रोपनी एकहजार तीनसय रुपैया राहत तथा क्षतिपुर्ति दिने निर्णय गरेको सो नपा कार्यालयले जनाएको छ ।










