बिदुरः विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालय फुटवल प्रतियोगिता अन्र्तगत आइतवार भएको क्वार्टरफाइनल चरणका दुर्ई खेलहरु सम्पन्न भएका छन् । दर्शकहरुले विद्यालयका छात्रहरुको प्रतिस्पर्धात्मक र आकर्षक खेल हेरेर मनोरन्जन लिएका छन् ।


नुवाकोट फुटवल संघको आयोजनामा नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन भइरहेको प्रतियोगिता अन्र्तगत क्वार्टरफाइनल खेलवाट विजेता भई अर्किड ऐकेडेमी र महेन्द्र मावि सेमिफाइनलमा प्रवेश गरेका हुन् । आक्रामक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलमा अर्किडले शिलादेवी माविलाई शुन्यका विरुद्ध पांच गोलले पराजित गरि प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

अन्तिम क्वार्टरफाइनल खेलमा महेन्द्र माविले सुभेनियर वोर्डिङ स्कुललाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरि आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । सोमवार पहिलो सेमिफाइनल खेल त्रिभुवन त्रिशूली मावि त्रिशूली विरुद्ध रणभुवनेश्वरी मावि तथा दोश्रो सेमिफाइनल खेल अर्किड एकेडेमी विरुद्ध महेन्द्र माविले फाइनल चरणका लागि भिडन्त गर्नेछन् ।

उक्त प्रतियोगितामा नुवाकोटका विभिन्न २० विद्यालयलवाट छात्रतर्फ १६ र छात्रातर्फ चार टिम सहभागी भएका थिए । प्रतियोगिता स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा सन्चालन गरिएको र प्रतियोगिताको फाइनल खेल आगामी मंसिर २ गते हुने तय भएको आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।






