बिदुरः संसद पुर्नस्थापनाको पक्षमा आवाज उठाउंदै आएको नेकपा एमाले नुवाकोटले जागरणसभा गरेको छ । नारा जुलुशसहित एमाले नुवाकोटले शनिवार बिदुरमा जागरणसभा सम्पन्न गरेको हो । देशभरका जिल्लामा जस्तै नेकपा एमाले नुवाकोटले पनि बिदुरमा जनप्रदर्शन सहित वृहत जनसभा गरेको हो । लोकतन्त्र र संविधानको रक्षा, संसद पुनस्र्थापना, सर्वपक्षीय सरकार गठन तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डा राखेर बिदुरमा एमालेले प्रदर्शन सहित जनसभा सम्पन्न गरेको हो ।


यसअघि, बिदुर नगरपालिका प्रवेश गर्ने देवीघाट, ढिकुरे, राइसिङ, वेत्रावतिबाट सुरू गरिएको जुलुशसहितको प्रदर्शन बिदुरस्थित एमाले जिल्ला कार्यालय अगाडि पुगेर जनसभामा परिणत भएको हो । जनसभामा बोल्ने अधिकांश एमालेका नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको दाव िगर्दै एमालेले त्यसलाई स्वीकार गर्न नसक्ने बताए ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय उपमहासचिव विष्णु रिमालले एमालेले संसद पुर्नस्थापनालाई प्रमुख एजेण्डाको रुपमा अगाडि सारेको र संसद पुर्नस्थापना नभएसम्म संघर्ष र आनदोलन जारी रहने वताए । उनले एमालेप्रतिको जनविस्वासलाई अनेक षडयन्त्र गरेर भाच्न खोजिएको र यसमा जनता सचेत रहेको दावी गरे । नेकपा एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्वहरूले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको रिमालले आरोप लगानए । उनले एमालेको नीति, विद्यि र सिद्धान्त मन पराएरै आम नागरिकको भरोसाको मुख्य दल एमाले नै भएको वताए ।

जेनजी पुस्ताको माग जायज रहेको अवस्थामा जेनजी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमाले, कांग्रेसलगायत दलका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी घर तथा सम्पत्तिमा छानी छानी आगजनी र तोडफोड गरिएको रिमालले वताए । उनले जनताको परिवर्तनका लागि एमाले जत्तिको निर्भिक दल अरु नभएको भन्दै अबका दिनमा एमालेले जनताका परिवर्तनका लागि संसद पुर्नस्थापनाबाटै गणतन्त्र, संविधानको पक्षमा आवाज उठाइरहेको वताए ।

रिमालले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे । एमालेको लोकप्रियताबाट आत्तिएकाहरुले अनेक षडयन्त्र गरेको उनको भनाई छ । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज केशवराज पाण्डेले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको कारण सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए । उनले एमालेको लोकप्रियतालाई कुनै षडयन्त्रकारीहरुले पनि परास्त गर्न नसक्ने दावी गरे ।

जनसभामा एमालेका अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाले देशमा भएका विभिन्न परिवर्तनहरुका लागि एमालेले गरेको योगदान केहि स्वार्थपुर्ण समूहले षडयन्त्र गर्दैमा नमेटिने वताइन् । उनले नआत्तिन र सचेत रहन जनता तथा कार्यकर्ताहरुलाई आग्रह गरिन् । नेकपा एमाले वागमतिका सदस्य वलराम आचार्यले विभिन्न परिवर्तनको नेतृत्व गरेको एमालेले संविधान, गणतन्त्रको रक्षा र कानूनी शासनको लागि दल आन्दोलित भएको जनाउंदै एमालेले गणतन्त्र संकटमा परेको ठहर गर्दै आन्दोलन सुरु गरेको वताए । उनले देशको स्वाधिनता, जनताको अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि एमाले कहिले पनि पछाडि नहट्ने वताए ।

कार्यक्रमा एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि बद्री मैनालीले जनताका लागि “देशभक्त उठ, जनताको हितका लागि, लोकतन्त्र र राष्ट्रको रक्षा गरौं” भन्ने मूल नाराका साथ एमालेको अभियान अन्र्तगत विशेष रुपमा पार्टी संगठन, जनसंगठन तथा जनस्तरमा जनप्रदर्शन गरिएको वताए । उनले एमालेले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताए ।

जनसभा, जुलुश तथा प्रदर्शनमा केन्द्रीय तथा जिल्लास्तरिय नेताहरू, विभिन्न जनवर्गिय संगठन, अनेरास्ववियु, अनेमसंघ, किसान संघ, युवा संघ नेपालका अगुवा नेता तथा कार्यकर्ताहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा एमाले नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालले एमाले एक सुत्रीय मागसहित संसद पुनस्थापनाको पक्षमा लागेको उललेख गर्दै यसका लागि अरु दलहरुसँग पनि सहकार्य गर्ने बताए ।

एमालेले परिवर्तनका लागि नुवाकोटमा तीन चरणको जनप्रदर्शन र जनसभा सम्पन्न गरेको एमाले जिल्ला सचिव शिवकुमार चित्रकारको भनाई छ । जनसभामा एमालेले भदौ २४ गतेपछि देशमा विकसित राजनीतिक घटनाक्रम, संसद विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमालेले जनाएको छ ।

जनसभाअघि, एमालेले बिदुर नगरको विभिन्न स्थानवाट जुलुश, ¥यालीसहित गणतन्त्र र संविधानको पक्षमा नारा लगाएको थियो । एमालेको धारणाप्रति जनतालाई सचेत गराउने उद्धेश्यले कार्यक्रम गरिएको एमाले नुवाकोटका उपसचिव राजेन्द्रप्रकाश पाण्डेको भनाई छ ।













