बिदुरः नुवाकोटको उत्तरी भेगमा रहेको चन्द्रावती खोलामा निर्माणाधिन पुल अलपत्र भएकोमा पुनः निर्माण सुरु भएको छ । यसअघि सो पुल निर्माणमा ढिलाई भएको जनाउंदै पुर्वमन्त्रिलगायतको टोलीले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको थियो । पाँच वर्षअघि ठेक्का सम्झौता भएर काम अलपत्र रहेको चन्द्रावती खोलाको पक्की पुल निर्माणमा वागमति प्रदेश सभा सदस्य तथा पुर्व कृषि राज्यमन्त्रि राधिका तामाङले ध्यानाकर्षण गराएपछि पुनः निर्माण सुरु भएको हो ।


निर्माण पक्षले दुप्चेश्वर गाउँपालिका–५ बालकुमारी र दुप्चेश्वर ६ समुन्द्रटार जोड्ने चन्द्रावती खोला पक्की पुल निर्माण सुरु गरेको जनाएको छ । २०७७ सालमा निर्माण सम्झौता पाएको ड्रागन–रकडेल जेभी निर्माण कम्पनीले समयमै काम नगरेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू आक्रोशित भएका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले दैनिक आवागमनमा असुविधा व्यहोर्दै आएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

उनका अनुसार विशेषगरी विद्यार्थी, बिरामी र कृषिजन्य वस्तु ढुवानीमा समस्या बढेपछि काम छिटो गर्न माग उठ्दै आएको थियो । बागमती प्रदेश सभाकी निवर्तमान उपसभामुखसमेत रहेकी प्रदेशसभा सदस्य राधिका तामाङको पहलमा स्थलगत निरीक्षण टोलीले निर्माण स्थलमै ठेकेदार प्रतिनिधिलाई बोलाएर स्पष्ट निर्देशन दिएको थियो । निरीक्षण टोलीमा नुवाकोटका जिल्ला समन्वय प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरी, दुप्चेश्वर गापा अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायत स्थानीयवासी तथा अन्य जनप्रतिनिधिहरू रहेका थिए ।

सांसद तामाङले काम लम्ब्याउँदै जनतालाई झुक्याउने प्रवृत्तिको आलोचना गर्दै ‘जनताको करबाट विकासको बजेट बनाइन्छ, यसैले ठेकेदारले जिम्मेवारीपूर्वक काम गर्नैपर्छ’ भनिन् । निर्माण कम्पनीका प्रतिनिधिले प्रतिवद्धता जनाए अनुसार पुनः काम सुरु गरी पुस मसान्तसम्म पुलको निर्माण कार्य सम्पत्र गर्ने प्रतिबद्घता जनाएका छन् । स्थानीयवासीहरूले काम सम्पन्न हुने आशामा राहत महसुस गरेका छन् ।
उनीहरूले लामो समयदेखि पुल अभावमा वर्षायाममा खोला तर्ने जोखिम व्यहोर्दै आएको बताउँदै, अब भने स्थायी पुल निर्माणपछि आवागमन सहज हुने विश्वास लिएका छन् । दुप्चेश्वर नुवाकोटको धार्मिक पर्यटन गनतव्य वोकेको स्थान हो ।





