बिदुरः नेपाली चलचित्र पत्रकारिताको इतिहास समेटिएको चलचित्र पत्रकार’ पुस्तक लोकार्पण भएको छ । चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित सो पुस्तकको कार्यक्रमकावीच लोकार्पण गरिएको हो ।


नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ कलाकारसंग सम्वद्ध विभिन्न नेतृत्वहरुद्वारा सामूहिक रुपमा लोकार्पण गरिएको हो ।
आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डीसी), नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र पकार संघका पूर्वअध्यक्ष शान्तिप्रिय र कुवेर गिरी, चर्चित कलाकार केदार घिमिरे ‘माग्ने वुढा’, साहित्यकार डा. नवराज लम्साललगायतका विशिष्ट व्यक्तित्वहरूले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्र क्षेत्रको समग्र अभिवृद्धिमा चलचित्र पत्रकारिता अभिन्न अंग भएको उल्लेख गर्दै “चलचित्र पत्रकारिताले चलचित्रको प्रचार र प्रवद्र्धनका साथै आलोचना, विश्लेषण र सुधारका दिशा देखाउने माध्यमको रूपमा काम गर्नुका साथै यसको समृद्धि र शुद्ध पत्रकारिताका लागि चलचित्र पत्रकार कल्याण कोष स्थापना गर्ने पवित्र उद्देश्यलाई बोर्डले सहयोग गरेकोमा यस प्रकारका प्रयासहरूले चलचित्र पत्रकारितालाई अझ जिम्मेवार, अनुसन्धानमुखी र स्थायी बनाउन मद्दत गर्छ”–भने ।

कार्यक्रममा चलचित्र पत्रकारिताको खोजी र अनुसन्धानमुखी स्वरूपका सम्वन्धमा अध्यक्ष डीसी, कलाकार संघ अध्यक्ष निरौला, पत्रकार शान्तिप्रिय, ध्रुव लम्साल, मदन रिजाल र रघुनाथ सापकोटाबीचे विचार–विमर्श गरिएको थियो । विचार–विमर्शमा सहभागीहरूले चलचित्र पत्रकारितालाई कुनै निश्चित चलचित्र वा व्यक्तिको प्रचार केन्द्रित नभई स्वतन्त्र, निष्पक्ष र सिर्जनात्मक पत्रकारिताको सिद्धान्तअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले संघले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिकता तर्फ उन्मुख बनाउँदै नयाँ पुस्तालाई अघि ल्याउने अभियानमा निरन्तर क्रियाशील रहेको बताए । ‘चलचित्र पत्रकार’ पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण रकम चलचित्र पत्रकार कल्याण कोषमा जम्मा गरिने निर्णय गरिएको छ ।

यसवाट चलचित्र पत्रकारको मनोबल वृद्धी हुनेछ भन्ने विश्वासका साथ पुस्तक प्रकाशन तथा समारोहलाई बोर्डले सहयोग गरेको अध्यक्ष दिनेश डिसीको भनाई छ ।








