बिदुरः नुवाकोटको सदरमुकाम क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्दै आएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको साधारणसभा र अधिवेशनको तयारी गरिएको छ । उपभोक्तावीच नयां कार्यसमितिसमेत चयन हुने भएका कारण अधिवेसनको नेतृत्वका लागि रस्साकस्सीसमेत भएको छ । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले कार्यालयमा पत्रकार सम्मेलनमार्फत सँस्थाको दशौँ साधारणसभा र नवौँ अधिवेशन आगामी मंसिर ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने जनाएको छ । सँस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठका अनुसार, साधारणसभा र अधिवेशनमा सहभागिताका लागि यहि कार्तिक ३० गतेभित्र पानीको बाँकी बक्यौता तिर्नु, सदस्यता नवीकरण गर्नु र धारा नामसारी गर्नुपर्ने भएमा गर्नुपर्ने उपभोक्ताहरुलाई अनुरोध गरे ।


साथै, उपभोक्ता सदस्य परिचयपत्र बनाउन एक प्रति फोटोसहित सँस्थाको कार्यालय, विदुरमा सम्पर्क गर्नुपर्ने उनले वताए । संस्थाको पांचहजार वढि धाराका सदस्यहरु रहेका छन् । जसवाट २५ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित रहेका छन् । उपभोक्ता सदस्यहरुवाट आगामी तीन वर्षे कार्यकालका लागि नौ सदस्यीय कार्यसमितिको चयन हुने अध्यक्ष श्रेष्ठको भनाई छ ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्ना सबै उपभोक्ता सदस्यहरूलाई खानेपानी महसुलको बक्यौता रकम भुक्तानी गर्न, धारा नामसारी गर्न र सदस्यता नवीकरण गर्न आग्रह गरेको छ । संस्थाका सचिव राजेन्द्र पाण्डेले हस्ताक्षर गरेको सूचनामा सबै उपभोक्ता सदस्यहरूलाई समयमै आफ्नो दायित्व पूरा गरी संस्थाको कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गरिएको छ ।
संस्थाले एक सूचना जारी गर्दै आफ्नो दशौं साधारणसभा तथा नवौं अधिवेशन २०८२ मंसिर ८ गते साधारण सभा तथा अधिवेसन हुने जानकारी गराउँदै अधिवेशनमा सहभागी हुनका लागि सम्पूर्ण बक्यौता रकम तिरेको र नियमअनुसार धारा नामसारी गरेको प्रमाणसहितको रसिद वा कागजात पेश गर्नुपर्ने जनाएको छ । संस्थाले भुक्तानी र नामसारीका लागि अन्तिम २०८२ असोज महिनाको मसान्तसम्ममा बक्यौता रकम चुक्ता गर्न र धारा नामसारी गर्न अनुरोध गरेको छ । अधिवेशनमा सहभागिताका लागि तोकिएको समयभित्र सम्पूर्ण तिर्नुपर्ने रकम तिर्ने र नियमानुसार कागजात मिलाउने उपभोक्ताहरूलाई मात्र संस्थाको आगामी साधारणसभा तथा अधिवेशनमा सहभागी गराइने सूचनामा उल्लेख छ । संस्थाले तोकिएको समयमा बक्यौता रकम नबुझाउने वा नामसारी नगर्ने उपभोक्ताहरूलाई साधारणसभा तथा अधिवेशनमा सहभागी नगराउने स्पष्ट रहेको उपाध्यक्ष नवराज न्यौपानेको भनाई छ ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो दशौं साधारणसभा तथा नवौं अधिवेशनको तयारी स्वरूप विदुरमा सरोकारवालाहरूसँग अन्र्तक्रियासमेत गरेको छ । संस्थाको नयाँ नेतृत्व चयनलाई लिएर विगतमा विदुर नगरपालिकाको ‘मिनी निर्वाचन’ का रूपमा हेरिने चुनावी प्रतिस्पर्धालाई यसपटक देशको वर्तमान परिस्थिति र संस्थाको विशुद्ध सेवाभाव लाई प्राथमिकता दिँदै सर्वसम्मत बनाउने प्रयास गरिएको संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले बताए । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थालाई दलगत राजनीतिभन्दा माथि उठाएर लैजाने विषयमा जोड दिइएको छ । नेकपा एमालेका सचिव शिवकुमार चित्रकार, नेकपा माओवादी विदुर नगर कमिटीका संयोजक भोजराज पनेरु, रास्वपाका सभापति रामेश्वर गजुरेललगायत, सरोकारवाला तथा सहभागीहरुले संस्थाले विदुर नगरपालिका पांंचहजार धारोमार्फत २५ हजार उपभोक्ताहरुलाई प्रत्यक्ष खानेपानी सेवा दिई रहेकोले उनीहरुको हक, हित र निरन्तर खानेपानी दिलाउने नेतृत्व चयनमा राजनीतिक दलहरूले समेत सेवाभावमा केन्द्रीत हुने प्रतिवद्धता जनाएका छन् ।

उपभोक्ताहरूलाई स्वच्छ खानेपानी सेवा प्रदान गर्ने मूल लक्ष्यबाट विचलित नभई सहमति र सहकार्यका माध्यमबाट नेतृत्व चयन गर्न सबै सरोकारवालाहरू सहमत भएको जनाइएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा आयोजित अन्र्तक्रियाले सर्वसम्मत नेतृत्व चयनका लागि बाटो खुल्ला गरेको विस्वास गरिएको छ । सो संस्थाका पदाधिकारी र सदस्यहरुको समयावधि गत भदौ २४ गते नै सकिएको थियो । संस्थाको विद्यानअनुसार आसन्न निर्वाचन सम्पन्न गर्न तीन महिना म्याद थप गरिएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयका प्रमुख राजकुमार तिमिल्सिनाले बताए ।





