बिदुरः विरामीहरुको सुविधाका लागि नुवाकोटको एकै स्थानमा १३ प्रकारका प्लाष्टिक सर्जरी हुने भएको छ । त्रिशूलीमा वृहत रुपमा उक्त सर्जरीको आयोजना गरिएको छ । विदुर नगरपालिका, त्रिशूली अस्पताल, लायन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा तीन दिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरको आयोजना गरिएको छ । शिविरबारे आइतवार विदुर नपा कार्यालयमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो ।


पत्रकार सम्मेलनमा उपमेयर प्रभा बोगटीले वृहत र विशेषज्ञ रुपमा आयोजित उक्त शिविर प्रभावकारी हुने विस्वास व्यक्त गरिन् । उनले सो शिविरमा प्लाष्टिक सर्जरी गर्न आवस्यक भएका विरामीलाई सुविधा लिन अनुरोध गरिन् । उक्त प्लाष्ट्रिक सर्जरी शिविर यही कार्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने विदुर नपाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए । उनले शिविरमा जलन, दुर्घटना, जन्मजात विकृति तथा छाला सम्वन्धि विरामीहरूले स्वास्थ्य सेवा लिन सकिने बताए ।

यसका साथै शिविर अगाडि पनि आयोजकसंग विरामीले परामर्श गरेर आफुलाई चाहिएको उपचार सेवाका सम्वन्धमा जानकारी लिन सक्ने उनले वताए । त्रिशूली अस्पतालमा गरिने शिविरमा डा. सन्तोषविक्रम भण्डारी र डा. राजु भण्डारीसहितको विशेषज्ञ चिकित्सक टोलीले शल्यक्रियामा उपचार सेवा दिने आयोजक लायन्स क्लब अफ नुवाकोट त्रिशूलीको लायन्स सेवा केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजालले वताए । कार्यक्रममा सहभागी जनप्रतिनिधि, विदुर नपाका विभिन्न स्वास्थ्य इकाइका साथै अस्पतालका स्वास्थ्यकर्मीहरुले उक्त वृहत प्लाष्ट्रिक सर्जरी शिविरवाट भरपुर रुपमा सेवा लिन विरामीहरुलाई अनुरोध गरे ।

शिविरमा विशेषतः आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको, आगलागीबाट कपाल गुमाएकाहरू, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएको, हात–खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला भएको, ओठ वा तालु फुटेको, मांसपेशी खुम्चिएर नचल्ने अंग, विस्फोटनबाट क्षतिग्रस्त भई शल्यक्रिया आवश्यक रहेको अवस्थामा पुगेका, खुट्टाको पैतालाभित्र फर्किएको, काटिएको अंग पुनः अपरेशन आवश्यक परेका, कान–नाक चिरिएको समस्या, शरीरका मुसा, कोठी, दाग, गांठाहरु, स्तन क्यान्सरसँग सम्बन्धित शल्यक्रिया आवश्यक परेका बिरामी तथा मेरुदण्ड भाँचिएर प्यारालाइसिस भई खाँटे घाउ बनेका बिरामीहरूको उपचार हुने पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

यसका साथै स्तनको आकार मिलाउनु पर्ने तथा क्यान्सर उपचारपछि गुमेको स्तन पुनः बनाउनु पर्ने अवस्थाका बिरामीलाई समेत शिविरमा सेवा उपलब्ध गराइने डा. डा. सन्तोषविक्रम भण्डारीले जानकारी दिए । जटिल शल्यक्रिया गर्न आवस्यक भएका बिरामीहरूका थप उपचारको लागि सुष्मा कोइराला मेमोरियल अस्पताल पठाइने डा. भण्डारीले बताए ।





