बिदुरः नुवाकोटको तारकेश्वरको विद्यालयमा प्रविधिमैत्री शिक्षा सुरु गरिएको छ । विद्यालयमा आइसिटी प्रविधि हस्तान्तरण गरिएको छ । तारकेश्वर गाउंपालिका ४ नेवारपानीस्थित सरस्वती आधारभूत विद्यालयमा आइसिटी प्रविधि हस्तान्तरणसंगै प्रविधिमैत्री शिक्षा सन्चालन गरिएको हो । उक्त विद्यालयमा आयोजित बाआमा तथा छोराछोरीसंग गाउँपालिका अध्यक्षसँग कार्यक्रमसमेत सन्चालन गरिएको छ ।


यसवाट विद्यार्थी, अभिभावक, शिक्षकहरु निकै उत्साहित भएका छन् । सोही कार्यक्रमकावीच विद्यालयकोे ६६औं वार्षिकोत्सवसमेत गरिएको छ । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले शुक्रवार आयोजित संयुक्त कार्यक्रममा सो विद्यालयका लागि आइसिटी प्रविधि हस्तान्तरण गरेका हुन् । उनले प्रविधिमैत्री शिक्षाका लागि विद्यालयको भौतिक आवश्यकता समाधानका लागि गाउँपालिकाले शैक्षिक विकास गरिरहेकोे बताउँदै शैक्षिक गुणस्तर कायम राख्न आग्रह गरे ।

गुणस्तरिय, प्रविधिमैत्री तथा आधुनिक शिक्षाका लागि स्थानीय सरकारले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकसंग सहकार्यको भावनालाई विकास गरिहेकोसमेत वताए । उक्त आइसिटी ल्यावको लागत ६ लाख ५० हजार रुपैया रहेको छ । उक्त कार्यक्रमसँगै आयोजित गाउँपालिका अध्यक्षसँग बाआमा तथा छोराछोरी कार्यक्रममा गापा अध्यक्ष अधिकारीले विद्यालयलाई प्रविधिमैत्री बनाउन गापा सदैव क्रियाशील रहेको वताए । सोही अवसरमा अध्यक्ष अधिकारीले विद्यालय परिसरमा निर्माण गरिएको फन पार्ककोसमेत उद्घाटन गरे ।

उक्त फनपार्क गाउँपालिकाकै पहिलो फन पार्क भएको र सो फनपार्कले बालबालिकाको शैक्षिक, सामाजिक विकास र शारिरीक तन्दुरुस्तीमा महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे । अध्यक्ष अधिकारीले पार्कको उचित रुपमा उपभोग र संरक्षण गरी बालबालिकाले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउन विद्यालय र अभिभावकलाई आग्रह गरे । यसका साथै अध्यक्ष अधिकारीले विद्यालयलाई एक थान साउन्ड सिस्टमसमेत हस्तान्तरण गरेका छन् ।

अध्यक्ष अधिकारीले विद्यालयको मात्रै भर नपरी आफ्ना नानीवावुहरुका लागि घरमा आफूले पनि समय छुट्याउन अभिभावकहरुलाई आग्रह गरे । बालबालिकाको शैक्षिक विकासका लागि विद्यालय र अभिभावकवीच उत्तिकै सहकार्य आवश्यक पर्ने उनले जोड दिए । उनले अभिभावकहरूलाई विद्यालयको शैक्षिक कमजोरी वा गुनासो भएमा गाउँपालिकामा जानकारी गराउन पनि आग्रह गरे ।









