बिदुरः नुवाकोटस्थित त्रिशूली नदी किनारामा उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रतालुहरुले छठ पर्व समापन गरेका छन् । श्रद्धा, भक्ति र अनुशासनको पर्वको रुपमा यस पर्वमा महिलाहरुले चार दिनसम्म निराहार व्रत बसी सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए ।


तराइमा मात्र मनाइदै आएको छठ पर्व डेढ दशकदेखि नुवाकोटको त्रिशूलीमा स्थानीय समुदायकोसमेत सक्रियतामा सामूहिक रुपमा मनाइदैआएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा नुवाकोटको त्रिशूलीलगायतका विभिन्न स्थानमा छठ पर्व भव्य रूपमा मनाउने गरिन्छ ।

तराई मुलका नागरिकहरुले वुधवार त्रिशूलीवजारमा रहेको राममन्दिरसंगै त्रिशूली नदीको किनारामा लहरै जम्मा भई छैंठी माताको पुजाआजा गर्दै उदाउंदो सुर्यलाई अघ्र्य चढाएर छठ पर्व मनाउंदै समापन गरिएको हो । पहाडमा छठ पर्व मनाउन स्थानीय समुदायले सहयोग गरेका थिए ।

तराईका विभिन्न स्थानमा मुल घर भई नुवाकोटका विपिभन्न स्थानमा पेशा, व्यवसाय तथा अध्ययन गरि वसेकाहरुले नुवाकोटको त्रिशूली नदी किनारामा रहेको राममन्दिर घाटमा सामूहिक रुपमा छठ पर्व मनाएका हुन् । सांगीतिक वातावरणमा छैठी माताको पुजा आराधनासहित एकैपटक सयौं जनाले सामूहिक छठ मनाएका हुन् ।








