बिदुरः लेक लागेर निधन भएका नुवाकोटको किस्पाङका मजदुर साम्बा घलेको आइतवार अन्तिम संस्कार गरिएको छ । पर्यटकसंग मनाङ पुगेका वेला लेक लागेर ज्यान गएका मजदुर घलेको हेलिकप्टरमार्फत शव ल्याएर अन्तिम संस्कार गरिएको हो ।

नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका–१ डाडाथोकका ४९ वर्षीय मजदुर ट्रेकिङ गएर पर्यटकको भारी वोक्ने कार्यमा संलग्न रहेको आफन्तजनले वताए । मजदुर साम्बा घलेको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको थियो ।

ट्रेकिङमा भारी वोक्ने कार्यमा संलग्न साम्वाको आइतवार शव हेलिकप्टरमार्फत ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरि परिवारजनले अन्तिम संस्कार गरेका छन् । उनको स्वयम्भुमा अन्तिम संस्कार गरिएको छिमेकी तथा नातेदार गणेश घलेले जानकारी दिए ।
उनका अनुसार मृतक साम्वाका पिता, श्रीमती र पांच जना छोराछोरी रहेका छन् । मनाङको नार्पाभूमि गाउँपालिका–४ मा लेक लागेर उनको मृत्यु भएको थियो भने साम्बा याकखर्कमा पर्यटकको भारी बोक्ने क्रममा बिरामी परेकोमा केही समयमे मृत्यु भएको प्रहरीले जनाएको छ ।





