बिदुरः चाडपर्वको समयमा गुणस्तरिय खाद्य वस्तुको खरिद विक्रीमा जोड दिदै नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न दुई स्थानमा वजार अनुगमन गरिएको छ ।लगातार अनुगमन गरि खाद्य सुरक्षाको प्रभावकारितामा जोड दिएका कारण उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको अनुगमन टोलीले जनाएको छ ।

सरोकारवाला कर्मचारीसहित गाउँ प्रहरीको संयुक्त टोलीले तारकेश्वर २ को तारुकाघाट र तारकेश्वर ४ को बुधसिहमा रहेका विभिन्न पसलहरूको छड्के अनुगमन गरेको हो । गापा अध्यक्ष शिव अधिकारी (अविरल)को निर्देशनमा अनुगमनका क्रममा म्याद गुज्रिएका, कुहिएका र बिग्रिएका अखाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गरिएको छ ।

पहिलेको अनुगमनको तुलनामा पाइएका कमकमजोरीहरु सुधार हुदै गइरहेको अनुगमन टोलीले जनाएको छ । अखाद्य वस्तुहरु पहिलेको तुलनामा कम भेटिएकाले उपभोक्ता अधिकारको अबस्था ‘सन्तोषजनक रहेको’ अनुगमन टोलीले जनाएको छ ।
अधिकांश पसलमा अनधिकृत रूपमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ सप्लाई गर्ने बिचौलियाहरूको झुक्याउने प्रवृत्ति रहेको पाइएको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ । उनले कार्यमा संलग्नलाई कारबाहीको लागी पालिकाले गम्भीर कदम चाल्ने चेतावनी दिएका छन् ।

उनले अखाद्य पदार्थको बिक्री वितरण नियन्त्रण गर्न नियमित रुपमा वजार अनुगमन कार्यलाई प्रवद्र्धन गरिएकोमा उपभोक्तासमेत खाद्य सुरक्षामा चनाखो हुनु पर्ने वताए । खाद्य सामग्रीहरु खरिद गर्दा अधिकृत विक्रेतामार्फत अवधि सकिने मिति हेरेर मात्र खरिद गर्न र पसलमा सामानको सुरक्षित भण्डारणको व्यवस्था गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ ।

स्थानीय तह ‘स्वस्थ र स्वच्छ व्यवसाय’को पक्षमा रहेको जनाउंदै अध्यक्ष अधिकारीले जनस्वास्थ्यको संरक्षणका लागि स्वतःस्फूर्त रुपमा साथ सहयोग गर्न व्यवसायी वर्गमा आग्रह गरेका छन् । यसका साथै उनले गाउँपालिकामा व्यवसाय सूचीकृत गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गापाको उद्योग शाखामा यथाशीघ्र सूचीकृत गर्न र ग्राहकले स्पष्ट देख्ने गरी उपभोग्य सामानहरूको मूल्यसूची राख्न समेत आग्रह गरिएको छ । विगतदेखि नै पटक/पटक अनुगमन गर्दै आएको तारकेश्वर गापाले चाडपर्वको समयमा उपभोक्ताको अधिकारको संरक्षणका लागि बजार अनुगमनलाई आकस्मिक र तिव्र बनाइएको गापाले जनाएको छ ।






