बिदुरः प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाम परिसरमा विविध संरचना निर्माण गरिएको छ । दुप्चेश्वर मेलालाई लक्ष्यित गरेर नयां संरचनाहरु निर्माण भइरहेको छ ।


दुप्चेश्वर क्षेत्र बिकास कोषले नजिकिदै गरेको मेलालाई मध्यनगर गर्दै तीर्थालुहरुको सुविधाका लागि जमिन सम्याउनुका साथै आधुनिक अपांगमैत्री शौचालयसमेत निर्माण गरिरहेको कोषका संयोजक तथा दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । उनका अनुसार दुप्चेश्वरमा दैनिक रुपमा भक्तजनहरुको आगमन वढिरहेको र यस वर्ष धान्यपुर्णिमाको अवसरमा लाग्ने मेलामा भक्तजनहरु वढ्ने अपेक्षा अनुसार विविध संरचनाको निर्माण गरिएका छन् ।

दुप्चेश्वर गापा ६ करेजुङको पहरामा पशुपतिनाथको पर्यायको रुपमा रहेको प्रसिद्ध दुप्चेश्वर मन्दिर रहेको छ । मन्दिर भन्दा मुनि ४० रोपनी जग्गा सम्याउने कार्य भइरहेको छ । मेलालाई लक्ष्यित गरे पक्कि र आधुनिक संरचना निर्माण कार्य भइरहेको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ ।

दुप्चेश्वर क्षेत्र विकास कोषमा संकलित भेटीवाट उक्त संरचनाको निर्माण गरिएको हो । अपांगमैत्री, वृद्धवृद्धाका लागि कम्वोडसहितको शौचालय, दुई स्थानमा जग्गा सम्याउने कार्य भइरहेको श्रेष्ठले वताए ।

निर्माणाधिन संरचना तयार हुन कुल ३० देखि ३५ लाख रुपैया खर्च हुने योजना अनुसार कार्य भइरहेको छ । महिला÷पुरुष गरि ५० जनाले छुट्टाछुट्टै स्थानमा एकैपटक प्रयोग गर्न मिल्ने आधु्निक शौचालय निर्माण भइरहेको छ ।

दुप्चेश्वरमा जान काठमाडौ तथा नुवाकोटवाट मोटरवाटोको सुविधा रहेको छ । प्रत्येक शनिवार, सोमवार, विहीवार, धान्यपुर्णिमा र शिवरात्रीमा दुप्चेश्वरमा भक्तजनहरुको विशेष मेला लाग्ने गरेको छ ।










