बिदुरः स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै नुवाकोटको तारकेश्वरमा गाउंमा उत्पादित फुलमात्र उपभोग गर्न आग्रह गरिएको छ । वजारमा पाइने महंगा खादा तथा माला भन्दा स्थानयि उत्पादन फुल मात्र प्रयोग गर्न तारकेश्वर गाउंपालिकाले सचेत गराएको छ ।


गाउँपालिका भित्रका सरकारी कार्यालयहरूलाई स्थानीयस्तरमा उत्पादित फूल मात्र उपभोग गर्न गापा अध्यक्षले निर्देशन दिएका छन् । तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले गापा भित्रका सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य केन्द्र तथा सहकारी संस्थाहरूले स्थानीय किसान संरक्षण र प्रवद्र्धनका साथै उत्पादनलाई प्रोत्साहन गर्नका लागि स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन दिएका हुन् । गापाभित्रका जुनसुकै कार्यक्रमहरूलाई मितव्ययी बनाउन महँगा खादा, आयातित विभिन्न फूलका माला, ब्याचलगायतको प्रयोग निषेध गर्दै स्थानीय फूलहरूको प्रयोग गर्न निर्देशन उनले सचेत गराएका हुन् । यससगै, अध्यक्ष अधिकारीले अबदेखि आफू कुनै पनि कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नहुने र गापा अध्यक्षका रूपमा छोटो समयका लागि मात्रै सहभागी हुने बताएका छन् ।

रेडक्रस तारुका उपशाखाको कार्यक्रममा उनले् उक्त दुई निर्णयबारे जानकारी गराएका हुन् । नियमित जसो भइरहने कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदा लामो समय व्यथित हुने भएकाले गापा अध्यक्षका रूपमा गर्नुपर्ने जनसेवाका कार्यहरूका लागि थप व्यवस्थापन गर्ने उद्देश्यले यस्तो निर्णय गरेको उनको भनाई छ ।
यसका साथै उनले रेडक्रस तारुका उपशाखाको भवनलाई थप सहयोगको घोषणा गरे । उनले गापाको सहयोगमा निर्माण भएको भवनको उद्घाटनको तयारी गर्न आग्रह गर्दै भवन सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र साउन्ड सिस्टम सहयोग गर्ने घोषणा गरे ।

वर्षेनी सहयोग गर्दै आएको स्मरण गर्दै अध्यक्ष अधिकारीले तारकेश्वरवासी लगायत जोकोहीलाई आवश्यक पर्दा तत्काल रगत उपलब्ध हुने सुनिश्चित गर्न विशेष रूपले व्यवस्थापनमा ध्यान पु¥याउन समेत आग्रह गरे । कार्यक्रममा तारकेश्वर ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठ, तत्कालीन तारुका गाविसका पुर्व अध्यक्ष विणारत्न शाक्य, रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठलगायतले सामाजिक सेवाको महत्वका विषयमा चर्चा गरेका थिए ।






