बिदुरः नुवाकोटको विदुरमा विश्व हुलाक दिवसका अवसरमा ११ जना सम्मानित भएका छन् । सेवाग्राही, कार्यरत र सेवा निवृत्त कर्मचारसिहित ११ जना एकैपटक सम्मानित भएका हुन् ।


आधुनिक प्रविधि भन्दा अगाडि प्रवेश गरेको हुलाक सेवा सुरु भएको डेढ सय वर्ष अर्थात् १५१ औं विश्व हुलाक दिवसका अवसरमा जिल्ला हुलाक कार्यालय नुवाकोटले एक जना सेवाग्राही, चार जना सेवा निवृत्त कर्मचारी तथा ६ जना कार्यरत कर्मचारीहरुलाई एकैपटक सम्मानित गरेको हो । यसका साथै वृद्धाश्रमममा रहेका वृद्ध वृद्धाहरुलाई फलफुलसमेत वितरण गरिएको छ । नागरिकका लागि हुलाकः स्थानीय सेवा, विश्वव्यापी पहुँच” भन्ने मुल नाराका साथ सेवाग्राही, कार्यरत र पुर्व कर्मचारी सम्मान, वृद्धवृद्धालाई फलफुल वितरण, तीन दिनसम्म दीपावली तथा सरसफाई कार्यक्रम गरि प्रत्येक वर्ष अक्टोबर ९ तारिखमा मनाइदै आएको दिवस यस वर्ष पनि मनाईएको हुलाक कार्यालय नुवाकोटले जनाएको छ ।

दिवसका दिन कार्यालय आएका.पहिलो सेवाग्राही विदुर नगरपालिका १० गेर्खुका ऋषिप्रसाद प्याकुरेल, पछिल्लो एक बर्षमा सेवा निवृत्त हुलाकका कर्मचारीहरु कृष्णप्रसाद गजुरेल, हरिप्रसाद पौडेल, रामबहादुर पाण्डे र तोयानाथ आचार्यलाई कार्यालय प्रमुख गोपालप्रसाद अधिकारीले सम्मानपत्र प्रदान गरि सम्मानित गरे । यसका साथै कार्य सम्पादनमा उत्कृष्ट कर्मचारी जिल्ला हुलाकका हल्कारा बिकास डंगोल र राजु कुमाल, पालिका हुलाकमध्ये उत्कृष्ट पालिका हुलाक कार्यालय शिवपुरी गापामा कार्यरत खरिदार राकेश तामाङ, जिल्लादेखि पालिकासम्म नियमित रूपमा डांंक आदान प्रदान गर्ने हल्कारा गोकुल पोखरेल, उत्कृष्ठ पत्र वितरक गोमा अधिकारी, अतिरिक्त हुलाकतर्फ रामराजा पाण्डेलाई कार्यालय प्रमुख अधिकारीले एकैपटक सम्मानपत्र प्रदान गरि सम्मानित गरे ।

विश्व हुलाक दिवसकै अवसरमा विदुर नपा ५ स्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका वृद्धवृद्धहरुलाई फलफूल बितरण गरिएको छ । प्रतिष्ठानमा रहेका ३९ जना वृद्धवृद्धालाई फलफुल प्रदान गरिएको हो । कार्यक्रममा हुलाक कार्यालय नुवाकोटका प्रमुख गोपालप्रसाद अधिकारीले आधुनिक प्रविधिको प्रवेश अगाडि डेढ सय वर्ष अगाडिदेखि विस्वास कमाएको हुलाक सेवाको छुट्टै, विशेष र अतुलनीय योगदान रहेको र यसलाई समय अनुसार अगाडि वढाउदै लगिएको वताए । यसका साथै कार्यालयमा सरोकारवाला तथा कर्मचारीहरुबीच हुलाकको महत्वको विषयमा अन्तक्रिया कार्यक्रमसमेत गरिएको छ ।









