बिदुरः वृद्धवृद्धाहरुको सुविधाका लागि नुवाकोटको देवीघाटमा रहेको वृद्धाश्रममा आश्रितहरुको आंखा परिक्षण तथा उपचार गरिएको छ । आवस्यक औषधि निःशुल्क प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट, सामुदायिक आँखा केन्द्र नुवाकोट र तीलगंगा आँखा केन्द्र काठमाडौको आयोजनामा विश्व दृष्टि दिवस–२०२५ को अवसरमा विहीवार विदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर आश्रित वृद्धवृद्धाहरुको निःशुल्क आंखा परिक्षण गरिएको हो । जिल्ला सामुदायिक आँखा केन्द्र प्रमुख ताराबहादुर वाइवा सहितको आंखा प्राविधिक टोलीले वृद्धाश्रम देवीघाटमा आश्रित रहेका ३९ जना वृद्धवृद्धाहश्रको निःशुल्क आँखा परिक्षण, मोतियाबिन्दुको पहिचान, तथा आवश्यक औषधि निःशुल्क वितरण गरेको रेडक्रस नुवाकोटले जनाएको छ ।

“आफ्नो आँखालाई माया गरौं” भन्ने मूल नाराका साथ प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरुको आँखा परिक्षण गरिएको रेडक्रस नुवाकोटका सभापति तथासामुदायिक आँखा केन्द्रका अध्यक्ष हरी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले सुन्दर सँसार देख्ने दृष्टि रहे मात्र मानव जीवन सफल हुने भएकाले आँखाको स्याहार तथा सुरक्षाका लागि सबै सचेत रहनुपर्नेमा जोड दिए ।
आँखा परिक्षण गरिएकामध्ये चार जना बिरामीहरुको आँखामा मोतियाविन्दुको समस्या रहेकोले शल्यक्रिया गर्नु पर्ने देखिएको रेडक्रस नुवाकोटका सचिव (मन्त्रि) उद्धव शर्मारिजालले जानकारी दिए । उनका अनुसार उनीहरुको निःशुल्क शल्यक्रिया गरिने भएकाले उपचारको लागि सामुदायिक आँखा केन्द्र विदुरमा रिफर गरिएको छ ।
नुवाकोट सामुदायिक आंखा केन्द्रले स्थापनाकालदेखि हालसम्म एकलाख ८५ हजार ९८ जना आँखाका बिरामीहरुको आंखा परिक्षण गरेको तथ्यांकमा उल्लेख छ ।

सवैभन्दा वढि विभिन्न स्थानमा सन्चालित आंखा शिविरमा एक लाख सात हजार दुई सय ८९ जनाको आंखा परिक्षण गरिएको सामुदायिक आँखा केन्द्र नुवाकोटका इञ्चार्ज ताराबहादुर वाइवाले जानकार दिए । उनका अनुसार विद्यालयगत २३ हजार पांचसय ६९ जना विद्यार्थीहरु र दुर सेवा अर्थात् टेलिमेडिसिन सेवाबाट पांचसय ४२ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरिएको छ ।
आंखा केन्द्रमार्फत् मोतियाबिन्दु भएका ६ हजार पांचसय २ जना आँखाका बिरामीहरुको शल्यक्रिया गरिएको थियो । आम सर्वसाधारणले आँखाको स्वास्थ्य सुरक्षा, हेरचार र स्याहार वढाउनु पर्ने देखिएको उनको भनाई छ ।







