बिदुरः हराइरहेकी एक महिलाको शव १० दिनपछि नुवाकोटको कोल्पुखोलामा फेला परेको छ । खोलाको किनारामा सडेगलेको अवस्थामा महिलाको शव फेला परेको हो ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर दुरी पुर्वमा रहेको ककनी गाउंपालिका ३ मसिने स्थित कोल्पुखोला किनारामा १० दिनदेखि हराइरहेकी एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटकै तादी गापा १ की ५० वर्षिया माइती तामाङको शव फेला परेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

माइती र उनका पति ६० वर्षिय कामसार्की तामाङ स्थानीय ककनी गापा १ स्थित डम्पिङ साइडमा फोहोर संकलनको काम गर्ने गरेकोमा माइती तामाङ यहि असोज १३ गते सोमवार विहानदेखि हराइरहेकोमा १० दिनपछि उनको शव फेला परेको डिएसपि लामाले वताए । मृतकका श्रीमान कामसार्की तामाङले शवको सनाखत गरका छन् भने उक्त घटनाको विशेष रुपमा अनुसन्धान सुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।





